काठमाडौं। सानिमा बैंक लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा पवनकुमार आचार्य नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले सोमबार साँझ बसेको बैठकमार्फत उनलाई चार वर्षका लागि सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।
आचार्य हालसम्म बैंककै डेपुटी सीईओका रूपमा कार्यरत थिए। उनले बैंकमा लामो समयदेखि विभिन्न जिम्मेवारी सम्हाल्दै व्यवस्थापन र सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेका छन्।
बैंकका हालका सीईओ निश्चलराज पाण्डेको पहिलो कार्यकाल आगामी माघ ११ गते सकिने भएकाले आचार्यको नियुक्ति सोही मितिदेखि लागू हुने बैंकले जनाएको छ। सानिमा बैंकले आचार्यको नेतृत्वमा संस्थागत सुशासन, प्रविधिक आधुनिकीकरण र ग्राहक सेवा विस्तारमा अझ प्रभावकारी परिणाम ल्याउने विश्वास व्यक्त गरेको छ।
आचार्यसँग बैंकिङ क्षेत्रमा करिब दुई दशक लामो अनुभव रहेको छ। उनले सानिमा बैंकमा आवधिक रूपमा विभिन्न विभागको नेतृत्व गर्दै बैंकको सञ्चालन सुधार र दक्षतामा योगदान दिएका छन्।

































