काठमाडौं। सालपा विकास बैंक लिमिटेडले निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा आईपीओ निष्कासन गरी बाँडफाँट सम्पन्न गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ खुला गरेको हो।
बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत बराबर हुने १७ करोड २३ लाख ८८ हजार रुपैयाँको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। सोमध्ये पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ लाख ७२ हजार ३८८ कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
अब दोस्रो चरणमा बैंकले २६ हजार ११९ कित्ता सेयर बैंकका कर्मचारीहरूका लागि सुरक्षित राखी बाँकी रहने १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गरेको हो।
आईपीओमा आवेदन दिन लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सालपा विकास बैंकलाई आईआरएन सिंगल बी (IRN Single B) इस्यूअर रेटिङ प्रदान गरेको छ।






































