काठमाडौँ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौँले समस्याग्रस्त घोषित पाँच सहकारी संस्थाका ऋणीहरूलाई भदौ मसान्तभित्र ऋण तिर्न ताकेता गरेको छ।
समितिले आज एक सूचना सार्वजनिक गर्दै सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीहरूलाई भदौ ३१ गतेभित्र ऋण तिर्न ताकेता गरेको हो ।
यी सहकारीका ऋणीहरूलाई यसअघि पनि पटक पटक सूचना प्रकाशन तथा फोनबाट समेत ऋण तिर्न आग्रह गर्दा पनि ऋणीहरू सम्पर्कमा नआएपछि समितिले सार्वजनिक सूचना निकाल्दै तोकिएको समयभित्र ऋण नबुझाएमा साँवा, ब्याज र हर्जाना रकमसमेत गणना गरी ऋण असुल गर्ने चेतावनी दिएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमण कुमार गौतमले उल्लेखित सहकारीहरूलाई यस अगाडि समेत पटक पटक सूचना प्रकाशन गरेको भएपनि बेवास्ता गरेको कारण सार्वजनिक सूचना निकाल्नु परेको जानकारी दिएका छन् ।
सिभिल २०८० भदौ २१ गते, दर्शन २०८१ कात्तिक ११ गते तथा नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्था २०८१ पुस २८ गते समस्याग्रस्त घोषणा भएका थिए ।



































