काठमाण्डौ। स्थानिय बजारमा सुनको मूल्य फेरि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज कारोबारमा सुनको भाउ उल्लेख्य रूपमा बढेसँगै यसअघिको उच्च मूल्य बराबरको स्तरमा पुनः पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले वृद्धि भएको छ। यो वृद्धिसँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको छ।
गत शुक्रबार भने सुन प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुनु, अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण सुरक्षित लगानीको रूपमा सुनप्रतिको आकर्षण बढ्नुले स्थानीय बजारमा पनि सुनको मूल्य उकालो लागेको व्यवसायीहरूको भनाइ छ।
यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला २१० रुपैयाँले वृद्धि हुँदै आज प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो।






































