काठमाडौँ। सुन र चाँदीको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाली बजारमा लगातारको मूल्यवृद्धिसँगै सुनचाँदी बजार नयाँ रेकर्ड कायम गर्न सफल भएको हो। आज छापावाला सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँले बढ्दै ऐतिहासिक उचाइमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य पनि तीव्र रूपमा बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज चाँदी प्रतितोला १६५ रुपैयाँले बढेर ४ हजार ५६५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहनु, डलरको मूल्यमा उतारचढाव, भू–राजनीतिक अनिश्चितता तथा लगानीकर्ताको सुरक्षित लगानीतर्फ बढ्दो आकर्षणका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा दबाब परेको हो।
मूल्य उच्च भएपछि सुनचाँदीको कारोबारमा भने केही सुस्तता देखिन सक्ने व्यवसायीहरूले बताएका छन्। विवाह, चाडपर्व र लगानीका लागि सुनचाँदी खरिद गर्ने उपभोक्ता मूल्य बढेसँगै केही पर्ख र हेरको अवस्थामा रहेको उनीहरूको भनाइ छ।






































