काठमाडौँ। नेपाली बजारमा निरन्तर उकालो लागिरहेको सुनचाँदीको मूल्य आज पनि बढेको छ। अघिल्लो दिन अर्थात् मङ्गलवार भारी मात्रामा वृद्धि भएको सुनको भाउ आज बुधवार फेरि महँगिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९ सय रुपैयाँले बढेर २ लाख ४८ हजार ८ सय रुपैयाँ पुगेको छ। मङ्गलवार भने सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो, जसमा एकै दिन ५ हजार २ सय रुपैयाँले वृद्धि भएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि आज उकालो लागेको छ। मङ्गलवार प्रतितोला ३ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले वृद्धि भई ३ हजार २ सय २० रुपैयाँ पुगेको छ।
लगातार बढ्दो सुन–चाँदीको मूल्यले बजारमा कारोबार केही सुस्त भएको व्यवसायीहरूको भनाइ छ। सामान्य उपभोक्ता तथा साना लगानीकर्ताहरूका लागि सुन किनबेच महँगो बन्दै गएको अवस्थामा, आगामी दिनमा अन्तर्राष्ट्रिय बजारको चलनचल्तीले नेपाली बजारको मूल्य कहाँ पुग्ने हो भन्ने जिज्ञासा थप चर्किन थालेको छ।
विदेशी मुद्रा विनिमय दरमा आएको परिवर्तन, विशेष गरी अमेरिकी डलरको मजबूतीका कारण पनि स्थानीय बजारको सुनको मूल्य आकासिँदै गएको जानकारहरूको भनाई छ ।
































