काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सव मनाएको छ।
वार्षिकोत्सवको अवसरमा कम्पनीमा १५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरेको हो । कार्यक्रममा कम्पनीका अध्यक्ष, संचालक, निवर्तमान संचालक, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनस्तरका कर्मचारी र विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो।
प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कार्यक्रमलाई सम्बोधन गर्दै १७ वर्षको सफल यात्रामा कम्पनीले हासिल गरेको वित्तीय सुदृढता, विश्वसनीयता र सूचकांकहरूमा देखिएको प्रगतिप्रति आभार व्यक्त गरे।
उनले कम्पनीले सधैं नवीनतम प्रविधि र ग्राहकमैत्री सेवा अपनाउँदै आएको उल्लेख गरे । आगामी दिनमा कम्पनीलाई अझ मजबुत, सशक्त र बृहत् बनाउने लक्ष्यप्रति उनले प्रतिबद्धता पनि जनाए।
खत्रीले कर्मचारीहरूको हकहित, सीप र व्यक्तित्व विकास कम्पनीको प्रमुख प्राथमिकता रहेको पनि बताए। सूर्यज्योति इन्स्योरेन्समा पारिवारिक वातावरण पाइने उल्लेख गर्दै उनले सबै सरोकारवालाप्रति आभार प्रकट गरे।
कार्यक्रममा कम्पनीको आगामी योजना, दीर्घकालीन रणनीति र सेवा विस्तारका विषयमा पनि जानकारी दिइएको थियो । खत्रीका अनुसार इन्स्योरेन्सले चालु आर्थिक वर्षको अन्त्यसम्ममा हालसम्मकै उत्कृष्ट व्यावसायिक परिणाम हासिल गर्ने लक्ष्य राखेको छ।
कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले ग्राहक, अभिकर्ता, कर्मचारी, सेयरधनी, नियमनकारी निकाय तथा अन्य सरोकारवालाहरूको निरन्तर साथ र विश्वासप्रति धन्यवाद व्यक्त गरे।
उनले संस्थागत सुशासन, पारदर्शिता र नियमको पालना गर्दै आएको बताउँदै आगामी दिनमा अझ मजबुत ढंगले अगाडि बढ्ने प्रतिबद्धता दोहोर्याए। साथै कर्मचारीहरूको वृत्ति विकासमा कम्पनी सधैं अग्रसर रहने पनि स्पष्ट पारे।
सूर्यज्योतिले हालै ‘सूर्यज्योति ईकर्जा’ अनलाइन लोन सेवा र ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ सार्वजनिक गरिसकेको छ। यी सेवाहरू बीमित तथा अभिकर्ताको हितमा सुरु गरिएका हुन्।
नेपालमै जीवन बीमा क्षेत्रमा पहिलो पटक आइएसओ ९००१ २०१५ मान्यता पाएको कम्पनी सूर्यज्योति लाइफको हाल चुक्ता पूँजी ५०१ करोड रुपैयाँ छ।
कम्पनीको कुल लगानी ४,४०० करोड, जीवन बीमा कोष ३,९४० करोड, नेटवर्थ ६३० करोड पुगेको छ। हालसम्म कम्पनीले ३२ लाख ७५ हजार ४७९ बीमालेख जारी गरेको छ भने १ लाख २ हजार २४० प्रशिक्षित अभिकर्ता र १७४ शाखामार्फत सेवा दिइरहेको छ।
सूर्यज्योति इन्स्योरेन्स नेपाली बीमा क्षेत्रको इतिहासमै पहिलो पटक ३५ घातक रोगविरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार खर्च सुविधा दिने बीमा योजना सञ्चालनमा ल्याएको एक मात्र जीवन बीमा कम्पनी पनि बनेको छ।






































