काठमाडौँ । हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरूमध्येमा ७ बैंकहरूले आर्थिक वर्ष २०८१र८२ को नाफाबाट लाभांश घोषणा गर्न अझै बाँकी रहेका छन् । यसअघि चार महिनाभित्र १२ वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् भने एक बैंकले लाभांश नदिने निर्णय गरेको छ।
गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने बैंकहरूमा सानिमा बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल एसबिआई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सांग्रिला डेभलपमेन्ट बैंक रहेका छन् ।
यससँगै १२ बैंकले लाभांश घोषणा गरिसकेका छन् भने कुमारी बैंकले कुनै पनि प्रकारको लाभांश नदिने घोषणा गरेको छ ।
त्यस्तै लक्ष्मी सनराइज बैंक र सिटिजन्स बैंकले कर प्रयोजनका लागि आवश्यक मात्र नगद सहित बोनस सेयर वितरण गरेका छन् । वाणिज्य बैंकहरूबीच सबैभन्दा बढी लाभांश दिने बैंक एभरेष्ट बैंक रहेको छ । यस बैंकले ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद (करसहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको हो ।
उता, गत आवको नाफाबाट सबैभन्दा कम लाभांश दिने बैंक सिटिजन्स बैंक बनेको छ । यसले ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गरेको छ।





































