काठमाडौँ। बैंक वित्तीय संस्थाहरुले दैनिक रुपमा गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक गरेको विवरण अनुसार अधिंकाशको नाफामा बढोत्तरी देखिएको छ ।
हालसम्म प्रभू बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक र सानिमा बैंक, हिमालयन बैंक, नबिल बैंक, एनएमबी बैंक गरेर १२ वटा बैंकहरुले गत आवको वित्तीय विवरण प्रकाशित गरेका हुन्।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
त्यस्तै, बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको छ ।
यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ३९ करोड रुपैयाँबाट घटेर ३५ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ। बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशत बढ्दा खुद फि तथा कमिशन आम्दानी १८.१६ प्रतिशतले बढेको छ ।
ग्लोबल आइएमई बैंक
यस बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। जस अनुसार बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले खुद नाफा ६ अर्ब २० करोड रुपैयाँ कमाएको छ। बैंकको यो नाफा अघिल्लो आवको तुलनामा १।०९६ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ६ अर्ब १३ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा बैंकको खु्द सञ्चालन आम्दानी १६ अर्ब ९७ करोड र सञ्चालन मुनाफा ८ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको निक्षेप संकलन १२.९५ प्रतिशतले बढेर ५ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ४.८७ प्रतिशत पुगेको छ ।
बैंकको वितरणयोग्य मुनाफामा उल्लेख्य सुधार आएको छ । बैंकले गत आवको चौथो त्रैमाससम्म वितरणयोग्य मुनाफा ५ अर्ब ३७ करोड रुपैयाँ पुर्याएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ९६१.५९ प्रतिशतले बढी हो।
प्रभु बैंक लिमिटेड
यस बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६५.४१ प्रतिशत बढी हो। बैंकले अघिल्लो आर्थिक वर्षमा ५१ करोड ८ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी ३९.४६ प्रतिशत घटेर ७ अर्ब १९ करोड ७८ लाख ६४ हजार रुपैयाँ गरेको छ। अघिल्लो वर्ष बैंकले ११ अर्ब ८९ करोड ८ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
समीक्षा वर्षमा बैंकको कुल सञ्चालन आम्दानी २७.२७ प्रतिशत घटेर १० अर्ब ५७ करोड २६ लाख ३२ हजार रुपैयाँ, सञ्चालन आम्दानी ६०.८२ प्रतिशत बढेर ६ अर्ब २८ करोड २७ लाख ६१ हजार रुपैयाँ छ ।
कुमारी बैंक
गत आर्थिक वर्ष २०८१/८२ मा कुमारी बैंकले २ अर्ब ११ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यस्तो नाफा अघिल्लो वर्ष बैंकले ४६ लाख रुपैयाँ आर्जन गरेको थियो ।
बैंकले नाफामा उल्लेख्य वृद्धि गरेपनि वितरणयोग्य नाफा भने ऋणात्मक रहेको छ। बैंकको वितरणयोग्य नाफा २ अर्ब ७९ करोड ४० लाख रुपैयाँ ऋणात्मक छ । अघिल्लो आवमा पनि बैंकको यस्तो नाफा ५ अर्ब ३६ करोड ७४ लाख रुपैयाँ ऋणात्मक थियो ।
त्यस्तै, गत आवमा बैंकको खुद ब्याज आम्दानी ६.९५ प्रतिशतले बढ्दा प्रति शेयर आम्दानी ८ रुपैयाँ ७ पैसा रहेको छ। बैंकको कुल सञ्चालन आम्दानी १०.९७ प्रतिशत, सञ्चालन नाफा ५२९.८७ प्रतिशत र खुद शुल्क तथा कमिसन आम्दानी २७.४४ प्रतिशत बढेको छ ।
त्यस्तै, बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ छ । गत आवमा बैंकले ३ खर्ब ६४ अर्ब ६३ करोड ९१ लाख निक्षेप संकलन गर्दा कर्जा लगानी २ खर्ब ६० अर्ब ९४ करोड ८३ लाख रुपैयाँ गरेको छ ।
सिटिजन्स बैंक
सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब २९ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २.०८ प्रतिशत कम हो। अघिल्लो आवमा यस बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको वितरणयोग्य मुनाफा ७७ करोड ५४ लाख रुपैयाँ रहेको छ । यस बैंकको लाभांश वितरण क्षमता ५.२५ प्रतिशत छ ।
साथै, बैंकको चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा ८ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ। गत आवसम्ममा बैंकले २ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंक लिमिटेडले ३ अर्ब ३९ करोड रुपैयाँ नाफा कमाएको छ। जुन अघिल्लो आवको तुलनामा १०.२४ प्रतिशत बढी हो। त्यसबेला बैंकले ३ अर्ब ८ करोड नाफा कमाएको थियो।
बैंकको वितरणयोग्य मुनाफा २२० प्रतिशतले बढेको छ । गत आवमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । यस्तो नाफा अघिल्लो आवमा ५८ करोड मात्रै थियो। बैंकको लाभांश क्षमता १३.२२ प्रतिशत छ ।
साथै, बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ १० पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ ९७ पैसा रहेको छ । बैंकको सञ्चालन आम्दानीमा ११.८२ प्रतिशतले वृद्धि भएको छ । बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ भने सेवा शुल्क तथा अन्य आम्दानी १ अर्ब ६४ करोड रुपैयाँ भएको छ।
बैंकको चुक्ता पुँजी १४ अर्ब ९ करोड रुपैयाँ छ भने जगेडा कोषमा १६ अर्ब ९० करोड रुपैयाँ रहेको छ । गत आवमा बैंकको निक्षेप संकलन २ खर्ब ८० अर्ब रुपैयाँ पुग्दा कर्जा लगानी २ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ ।
कृषि विकास बैंक
कृषि विकास बैंकको नाफा ४८.८८ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म ३ अर्ब ८२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ५७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ५५ करोड २० लाख पुगेको छ । भने बैंकको लाभांश क्षमता १८.४२ प्रतिशत रहेको छ। गत आवमा बैंकले खुद ब्याज आम्दानी ९ अर्ब ८२ करोड १४ लाख गर्दा सञ्चालन नाफा ५ अर्ब ८४ करोड पुगेको छ।
बैंकको प्रति शेयर आम्दानी २७ रुपैयाँ ६३ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २४१ रुपैयाँ ४ पैसा छ । बैंकको चुक्ता पुँजी १३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १९ अर्ब ८६ करोड रहेको छ । गत आवमा बैंकले २ खर्ब ९३ अर्ब निक्षेप संकलन गर्दा २ खर्ब १३ अर्ब कर्जा लगानी गरेको छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ३२.८० प्रतिशत बढी हो। अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
बैंकको वितरणयोग्य नाफा ५० प्रतिशत बढेको छ । गत आवमा बैंकको यस्तो नाफा ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ रहेको छ। बैंकको लाभांश क्षमता ३८.२७ प्रतिशत छ ।
त्यस्तै, गत आवमा बैंकको खुद ब्याज आम्दानी १९.३६ प्रतिशत बढेर ९ अर्ब १२ करोड ९३ लाख ८८ हजार रुपैयाँ गरेको छ । प्रतिशेयर आम्दानी गत वर्ष बढेर ३७.९९ रुपैयाँ हुँदा प्रतिशेयर नेटवर्थ २४७.३९ रुपैयाँ छ। बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ छ ।
सानिमा बैंक
सानिमा बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ गरेको छ। यो नाफा अघिल्लो आवको तुलनामा ७.२४ प्रतिशत बढी हो। अघिल्लो वर्ष बैंकले २ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यस बैंकको वितरणयोग्य नाफा ९२.१२ प्रतिशत बढेको छ। उक्त नाफा बढेर २ अर्ब ७८ करोड ७ लाख रुपैयाँ पुगेको छ। बैंकले २०.४७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता देखिन्छ ।
साथै, बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ गरेको छ। बैंकको प्रतिशेयर आम्दानी १८.९३ रुपैयाँ हुँदा प्रतिशेयर नेटवर्थ १६८.८३ रुपैयाँ छ । बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ अर्ब ५६ करोड ७१ लाख रुपैयाँ छ ।
हिमालयन बैंक
हिमालयन बैंकले गत आर्थिक वर्ष १ अर्ब ५१ करोड खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.१५ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.९९ प्रतिशतले घटेर १० अर्ब ४५ करोड रुपैयाँमा सीमित बनेको छ। अघिल्लो आवमा बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी भने १०.८६ प्रतिशतले बढेर १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको खुद सञ्चालन आम्दानी ७ अर्ब ८७ करोडबाट बढेर १० अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। भने सञ्चालन मुनाफा पनि २ अर्ब ८८ करोडबाट बढेर ५ अर्ब ४३ करोड पुगेको छ । बैंकको समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात ४.९८ प्रतिशतबाट बढेर ७.२८ प्रतिशत पुगेको छ ।
सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ७९ पैसा ऋणात्मक रहेको छ। असार मसान्तसम्ममा बैंकले ३ खर्ब ९ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
नबिल बैंक लिमिटेड
नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको छ। अघिल्लो आर्थिक वर्ष ६ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले गत आर्थिक वर्ष ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।
समीक्षा अवधिमा बैंकको यस्तो नाफा १५.०१ प्रतिशत बढेको हो। खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न पुगेको हो। साथै, समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.०६ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ५.३८ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३.४२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफ २५.४४ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४ अर्ब ६३ करोड रुपैयाँबाट घटेर २ अर्ब ३९ करोड रुपैयाँमा झरेको छ।
२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३६ अर्ब ६८ करोड रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा बैंकले ५ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १२ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७७ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६४ पैसा रहेको छ।
एनएमबी बैंक
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म यस बैंकले ३ अर्ब २८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आवको तुलनामा ४६.२२ प्रतिशत बढि हो। अघिल्लो आवमा यस बैंकले २ अर्ब २४ करोड ४३ लाख रुपैयाँ खुद नाफा गरेको थियो।
प्रस्तुत वित्तीय प्रतिवेदन अनुसार गत आवको अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड रुपैयाँ रहेको छ। वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ ४१ पैसा रहेको छ। अघिल्लो आवमा बैंकको वितरणयोग्य नाफा ९ करोड २८ लाख ४१ हजार रुपैयाँ ऋणात्मक थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.१४ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २१.६२ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी १४.३४ प्रतिशत बढ्दा सञ्चालन मुनाफा ६४।४६ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ९० पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ६८ पैसा रहेको छ। बैकको चुत्ता पुँजी १८ अर्ब ३३ करोड ६७ लाख रहेको छ । जगेडा कोषमा १४ अर्ब ३१ करोड रुपैयाँ सञ्चित छ।































