काठमाडौं। नेपालको विदेशी मुद्रा सञ्चितिमा उल्लेखनीय रूपमा सुधार आएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अनुसार, बैंकिङ प्रणालीमा रहेको वैदेशिक मुद्रा सञ्चिति अहिले १६.४ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्षम रहेको देखिएको छ।
अन्तर्राष्ट्रिय मानकले ३–६ महिनाको सञ्चिति सुरक्षित मान्ने भएकाले नेपालको सञ्चिति स्तर हाल अत्यन्तै मजबुत अवस्थामा छ।
तर यो सुधारको मुख्य आधार उत्पादन वा निर्यात वृद्धि नभई रेमिट्यान्सको तीव्र वृद्धि भएको राष्ट्र बैंकले देखाएको छ। चालु आवको पहिलो त्रैमासमा वैदेशिक रोजगारीबाट भित्रिएको रकम ३५.४ प्रतिशतले बढेर ५ खर्ब ५३ अर्ब ३१ करोड पुगेको छ, जसले अर्थतन्त्रमा रेमिट्यान्सको निर्भरता झनै बलियो बनेको पुष्टि गर्दछ ।
यद्यपि, विदेशी मुद्रा पक्ष बलियो देखिए पनि समग्र आर्थिक गतिविधि गतिशील बन्न सकेको छैन। निजी क्षेत्रको कर्जा माग न्यून, उत्पादन तथा उद्योग विस्तार सुस्त, निर्यात वृद्धि कमजोर र आयात उच्च स्तरमै, यी सूचकहरूले आर्थिक सक्रियता कमजोर रहेको स्पष्ट संकेत गरेका छन्।
सञ्चिति उच्च रहे पनि अर्थतन्त्र टिकाउ आधारमा उभिन नसक्नु अहिलेको प्रमुख चुनौती बनेको छ। आयात निर्भरता यथावत् छ, व्यापार घाटा उच्च छ र उद्योग व्यवसायमा अपेक्षित गति आएको छैन।
सकारात्मक पक्षमा, मुद्रास्फीति नियन्त्रणमा रहनु, बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुनु र बाह्य क्षेत्र सुरक्षित देखिनु उल्लेख्य छ। तर नकारात्मक पक्षले निजी क्षेत्र लगानीमा अनिश्चितता, निर्माण तथा रियल इस्टेट क्षेत्रमा दबाब, र रोजगार सिर्जनामा कमजोरीजस्ता जोखिमहरू दर्शाउँछन्।
तसर्थ, उत्पादन, निर्यात र निजी लगानीलाई सक्रिय पार्दै अर्थतन्त्रलाई स्थायी र दिगो आधारमा उभ्याउनु अपरिहार्य छ। रेमिट्यान्समा अत्यधिक निर्भरता रहिरहेसम्म कुनै पनि बाह्य झटका अर्थतन्त्रका लागि चुनौती बन्ने खतरा कायम रहने जानकारहरुको धारणा छ ।





































