काठमाडौँ। वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८१ /८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको नाफामा सामान्य गिरावट आएको छ । यस अवधिमा बैंकहरुको खुद नाफा साढे ४ प्रतिशतले घटेको छ।
आज प्रकाशित वित्तीय विवरण अनुसार २० वटा बैंकहरुले कुल २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने ४.६२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकहरुले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएका थिए।
समिक्षा अवधिमा ९ वटा बैंकको नाफा घटेको छ। भने बाँकी ११ बैंकले नाफा बढाएका छन् । समीक्षा अवधिमा सबैभन्दा बढी प्रभु बैंकले नाफा कमाउन सफल भएको छ। उक्त बैंकको खुद नाफा समीक्षा अवधिमा ८५.४९ प्रतिशत बढेको हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ७२ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले उक्त अवधिमा २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ कमाएको छ। यो गत आवको तुलनामा ५७.१८ प्रतिशत बढी हो। नाफा बढाउनेको सूचिमा रहेको ग्लोबल आइएमई बैंकले आफ्नो नाफामा ४९.५१ प्रतिशत बढाएर ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ कायम गरेको छ ।

साथै, यस अवधिमा एनएमबि बैंकले ६ महिनामा २ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा भने ४५.६ प्रतिशत बढी हो। एनआईसी एशिया बैंकको खुद नाफा समीक्षा अवधिमा सबैभन्दा बढी ९२.०३ प्रतिशत घटेको छ। यस अवधिसम्ममा सबैभन्दा कम नाफा कमाउने बैंकमा एनआईसी एशिया रहेको छ।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १५ करोड १७ लाख रुपैयाँ मात्र नाफा कमाएको छ। त्यसैगरी, समीक्षा अवधिमा कुमारी बैंकको खुद नाफा ६८ प्रतिशतभन्दा बढी घटेको छ भने राष्ट्रिय वाणिज्य बैंकको नाफा ६२ प्रतिशतभन्दा बढी घटेको छ।































