काठमाडौं। पर्यटन क्षेत्रको विकास र प्रवर्धनमा बैंक तथा वित्तीय संस्थाहरुले लगानी उल्लेखनीय रूपमा बढाएका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार, आर्थिक वर्ष २०८२/८३ को मंसिरसम्म बैंक तथा वित्त संस्थाहरुले पर्यटन क्षेत्रमा कुल २ खर्ब ६२ अर्ब ७९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यो रकम गत आवको सोही अवधिको तुलनामा ९ प्रतिशत अर्थात २१ अर्ब ६८ करोड ८० लाख रुपैयाँले बढी हो।
वाणिज्य बैंकले चालु आवमा पर्यटन क्षेत्रमा २ खर्ब २४ अर्ब ७३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्, जुन गत आवको तुलनामा ८.१८ प्रतिशत अर्थात १७ अर्ब १० लाख रुपैयाँले बढी हो।
त्यस्तै, वित्त संस्थाहरुले पर्यटन क्षेत्रको लागि ५ अर्ब २९ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्, जुन गत आवको तुलनामा ५.५६ प्रतिशत बढेको हो। पर्यटन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह बढ्नुको मुख्य कारण देशको पर्यटन उद्योगमा दीर्घकालीन लगानी र उच्च सम्भावनाको मूल्याङ्कन हुनुको साथै यसले आगामी वर्षमा पर्यटन क्षेत्रको थप विस्तार र रोजगारी सिर्जनामा सहयोग पुग्ने जानकारहरुको भनाई छ ।






































