काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले पर्यटन सेवा क्षेत्रमा करिब सवा २ खर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरूले असोज मसान्तसम्म यस क्षेत्रमा २ खर्ब २४ अर्ब ४२ करोड रुपैयाँ लगानी गरेका हुन्।
अघिल्लो वर्षको यही अवधिमा बैंकहरूले २ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। यस वर्ष समीक्षा अवधिमा कर्जा लगानी ७.७६ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको विश्लेषण छ।
लगानी कुन बैंकको कति ?
पर्यटन सेवा क्षेत्रमा सबैभन्दा धेरै कर्जा प्रवाह गर्ने बैंकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक पहिलो स्थानमा छ। असोजसम्म बैंकले २२ अर्ब ९७ करोड रुपैयाँ लगानी गरेको छ। यद्यपि, अघिल्लो वर्षको तुलनामा यसको कर्जा प्रवाह ४.२२ प्रतिशतले घटेको छ।
दोस्रो स्थानमा प्रभु बैंक छ। समीक्षा अवधिसम्म बैंकले २२ अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २.२६ प्रतिशतले बढी हो। तेस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ। अघिल्लो वर्ष १८ अर्ब १४ करोड रुपैयाँ लगानी गरेको बैंकले यस वर्ष १५.८६ प्रतिशत बढाएर २१ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
यसैगरी,यस अवधिमा प्राइम कमर्सियल बैंकले २० अर्ब ७४ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले १८ अर्ब ९३ करोड रुपैयाँ लगानी गरेका छन्। अघिल्लो वर्षको तुलनामा प्राइमको कर्जा लगानी १९.११ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको १७.१९ प्रतिशतले बढेको देखिन्छ।
सबैभन्दा कम लगानी गर्ने बैंक
समीक्षा अवधिसम्म पर्यटन क्षेत्रमा सबैभन्दा कम कर्जा लगानी स्ट्यान्डर्ड चार्टर्ड बैंकले गरेको छ। बैंकले यस क्षेत्रका लागि ८५ करोड ७२ लाख रुपैयाँ मात्र कर्जा प्रवाह गरेको छ। कर्जा वृद्धि दरका हिसाबले भने सिटिजन्स बैंक अगाडि रहेको छ। बैंकले ५०.०५ प्रतिशतले कर्जा प्रवाह बढाउँदै ४ अर्ब १८ करोड रुपैयाँ पर्यटन क्षेत्रमा लगानी गरेको छ।


































