काठमाडौं । आईपीओ निष्कासनको तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
भदौ २६ गते शुक्रबार सम्पन्न कम्पनीको छैटौँ वार्षिक साधारणसभाले २० प्रतिशत बोनस सेयर र २२.१०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साधारणसभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबरको सेयर बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणका लागि निष्कासन गर्ने प्रस्तावसमेत पारित गरेको छ । आईपीओ निष्कासनका लागि संस्थागत लगानीकर्तालाई वितरण गरिने विवरणपत्र स्वीकृत गर्नेलगायत आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि सभाले गरेको छ ।
कम्पनीको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा फार्मेसीबाहेक अस्पतालको कुल आम्दानी २ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी रहेको छ । सो अवधिमा अस्पतालको कुल खर्च २ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी र खुद नाफा ४७ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीले जनाएको छ ।
फार्मेसीको कारोबारसमेत समावेश गर्दा अस्पतालको कुल आम्दानी ३ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी पुगेको छ । सो अवधिमा कुल खर्च २ अर्ब ९९ करोड रुपैयाँभन्दा बढी तथा खुद नाफा ४७ करोड ८५ लाख रुपैयाँभन्दा बढी रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
सेवा प्रवाहतर्फ नर्भिकले आर्थिक वर्ष २०८२/८३ मा ओपीडीमार्फत १ लाख ७९ हजार, आईपीडीमार्फत ९ हजार तथा आकस्मिक सेवामार्फत ६ हजार बिरामीलाई उपचार सेवा प्रदान गरेको जनाएको छ ।
यसैगरी, अस्पतालले अस्ट्रेलिया, बेलायत, जापान, न्युजिल्यान्ड तथा पपुवा न्युगिनीका लागि ४१ हजार सेवाग्राहीलाई इमिग्रेसन हेल्थ स्क्रिनिङ सेवा प्रदान गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।


































