काठमाडौं । मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडको ९२ करोड ४१ लाख रुपैयाँभन्दा बढीको आईपीओ निष्कासन प्रक्रिया अघि बढेको छ। कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको ९२ लाख ४१ हजार ४२६ कित्ता शेयरको प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९२ लाख ४१ हजार ४२६ कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। यसअनुसार कम्पनीले सर्वसाधारणबाट कुल ९२ करोड ४१ लाख ४२ हजार ६०० रुपैयाँ बराबरको पूँजी जुटाउनेछ।
प्रस्तावित आईपीओ निष्कासनका लागि कम्पनीले ज्योति क्यापिटल लिमिटेडलाई सेयर प्रत्याभूतिकर्ता नियुक्त गरेको छ। यससम्बन्धी सम्झौता मुनलाईट हाइड्रोपावर र ज्योति क्यापिटलबीच भएको हो।
काठमाडौंमा आयोजित एक कार्यक्रममा ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र मुनलाईट हाइड्रोपावरका सञ्चालक समिति अध्यक्ष कल्याण विक्रम न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्ने सम्पूर्ण ९२ लाख ४१ हजार ४२६ कित्ता साधारण सेयरको प्रत्याभूति ज्योति क्यापिटलले गर्नेछ।
सेयर प्रत्याभूतिकर्ता नियुक्त भएसँगै मुनलाईट हाइड्रोपावरको प्रस्तावित सार्वजनिक निष्कासन प्रक्रियाले थप औपचारिकता पाएको छ। यद्यपि आईपीओ निष्कासनको अन्तिम मिति तथा अन्य विवरण भने सम्बन्धित स्वीकृति प्रक्रियापछि तय हुनेछन्।
ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको ज्योति क्यापिटलको चुक्ता पूँजी २१ करोड रुपैयाँ रहेको छ। नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको अनुमति प्राप्त ज्योति क्यापिटलले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति र सेयर रजिस्ट्रारलगायतका सेवा प्रदान गर्दै आएको छ।


































