काठमाडौँ । आज काठमाडौँमा हवाई बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (आईआईएन) को आयोजनामा यो सम्मेलन गरिएको हो।
'आईआईएन इन्स्योरेन्स समिट २०२४–एभिएशन’ आज काठमाडौँको होटल सोल्टीमा भव्य उद्घाटन सहित सुरु भएको हो। सम्मेलनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पानसमा बत्ती बालेर गरेका हुन।
जसमा एयरलाइन्स अपरेटर एसोसिएसन अफ नेपालका अध्यक्ष मनोज कार्की, एभिएसन सर्भेयर अजित कुमार कोक्केरी, यूआईबी एभियसनका म्यानेजिङ डाइरेक्टर मिलेस टफ्स, शिखर इन्स्योरेन्सका सीईओ तथा इन्स्योरेन्स इन्सिच्युटका डाइरेक्टर दिप प्रकाश पाण्डे र सिभिल एभियसनका डेपुटी डाइरेक्टर हन्सराज पाण्डे रहेका छन् ।
उक्त सम्मेलनमा सहभागीहरूबिच यस क्षेत्रको अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा जलवायु परिवर्तन र सोको प्रभाव, पुनर्बीमाको अवस्था, विभिन्न देशका बीमा नियामक निकायका कामकारबाही, चुनौती र बीमा क्षेत्रको दिगो विकासका लागि चाल्नुपर्ने कदमबारे पनि छलफल भएको छ।
कार्यक्रममा इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालका सीईओ सुशीलदेव सुवेदीले हालको उड्डयन क्षेत्रमा देखिएका चुनौतीका विषयमा छलफल गर्न उपस्थित सबै स्वदेशी तथा विदेशी व्यक्तित्वहरूलाई धन्यवाद दिएका छन् । हवाई क्षेत्रको जोखिम व्यवस्थापनमा सबै निकायले आफ्नो दक्षता र कार्यानुभव आपसमा साट्नुपर्ने सीईओ सुवेदीको भनाइ छ।
‘हवाई क्षेत्रको जोखिम न्यूनीकरणका लागि नवीनतम सोच आदानप्रदान गर्न सकिन्छ’, उनले भने, ‘यो सम्मेलनको लक्ष्य हवाई क्षेत्रका चुनौती पहिल्याउनु मात्रै नभएर तिनको सामना र समाधानका लागि उचित रणनीति ल्याउनु पनि रहेको छ।’







































