काठमाडौँ । आज सर्वोच्च अदालतले ‘सिधा कुरा’विरुद्धको अवहेलना मुद्दामा फैसला सुनाउने भएको छ । यसअघि बहस सकेर सर्वोच्चले आज (भदौ ६ गते) का लागि निसु तोकेको थियो।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा गठित ९ सदस्यीय बृहत् पूर्ण इजलास सुनुवाइ सकेर निसु तोकेको थियो । उक्त इजलासले १५ दिनभित्र बहस नोट पेस गर्न आदेश जारी गरेको थियो ।
प्रधानन्यायाधीश श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुङ्गाना, हरिप्रसाद फुयाँल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत् पूर्ण इजलासले यो विवादमा सुनुवाइ गरेको थियो ।
अनलाइन तथा युट्युब च्यानल सिधा कुराले सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको समेत नाम लिएर एक विवादित श्रव्य सामग्री प्रकाशन–प्रसारण गरेको थियो ।
उक्त अडियोमा वरिष्ठ अधिवक्ता हरि उप्रेतीको नाम पनि जोडिएको थियो । प्रसारित सामग्रीमा प्रयोग भएको अडियो फरेन्सिक परीक्षणबाट फेक प्रमाणित भइसकेको छ । सिधा कुराविरुद्ध सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले अदालतको अवहेला भएको दाबीसहित रिट दायर गरेका थिए ।





























