काठमाडौँ । नयाँ आर्थिक वर्षको सुरुवातसँगै सर्वोच्च अदालतमा नियमित सुनुवाइ प्रक्रिया केही दिनका लागि प्रभावित हुने भएको छ।
सर्वोच्च अदालत प्रशासनका अनुसार हरेक वर्षजस्तै यसपटक पनि लगत सार्ने कार्यका कारण नियमित सुनुवाइ अस्थायी रूपमा स्थगित हुनेछ। साउन १ गतेदेखि सुरु हुने यो प्रक्रिया साउन ११ गतेसम्म चल्ने जनाइएको छ।
यस अवधिमा करिब ११ दिन नियमित इजलास सञ्चालन प्रभावित हुने भए पनि बन्दी प्रत्यक्षीकरणजस्ता अत्यावश्यक मुद्दाहरूमा भने सुनुवाइ जारी रहनेछ।
साथै, केही विशेष निवेदनहरूमा पनि आवश्यकताअनुसार सुनुवाइ हुने अदालत प्रशासनले जनाएको छ।
यसअघि यस्तै प्रक्रियामा दुई सातासम्म सुनुवाइ प्रभावित हुने गरेकोमा यस वर्ष अवधि केही छोटो बनाइएको अदालतले स्पष्ट पारेको छ।































