काठमाडौँ। नेपालबाट विभिन्न देशमा अध्ययन तथा भ्रमणका लागि बाहिरिने नेपालीले सतही गर्ने वा बाहिरिने रकम पौने २ खर्ब रुपैयाँ भन्दा बढी पुगेको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथ्यांकमा आधारित विवरण अनुसार कुल १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ पढ्न र भ्रमणका लागि बाहिरिएको देखिएको छ। नेपाल राष्ट्र बैंकको विवरण अनुसार एक वर्षमा अध्ययनमा जानेहरू मार्फत १ खर्ब २५ अर्ब रुपैयाँ बिदेसिएको देखिएको छ ।
त्यस्तै नेपालबाट विदेश घुम्न जाने नेपालीले ६४ अर्ब ३० करोड रुपैयाँ बराबर विदेशी मुद्रा खर्च गरेका छन्। एक वर्षमा विदेशी पर्यटकबाट भने नेपालले ८२ अर्ब ३३ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ६२ अर्ब ३० करोड रुपैयाँ थियो।
यस्तै, खुद सेवा आय ५५ अर्ब ८६ करोड रुपैयाँले घाटामा देखिएको छ। नेपाल भित्रिनेभन्दा बाहिरिने रकम धेरै हुँदा सेवा आय घाटामा रहेको तथ्यांकमा उल्लेख छ । अघिल्लो आव २०७९/८० मा भ्रमण व्यय १ खर्ब ४४ अर्ब रुपैयाँ थियो। जसमध्ये शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड थियो। उक्त आर्थिक वर्ष घुम्न जानेले ४४ अर्ब रुपैयाँ खर्च गरेका जनाइएको छ।



































