काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले २० दिन अवधिका लागि आज उक्त रकम बराबरको निक्षेप संकलन उपकरण जारी गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल प्रक्रियामार्फत आवेदन दिन सक्नेछन्। निक्षेपको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ भने बैंक तथा वित्तीय संस्थाले बहुब्याजदरमा समेत आवेदन दिन पाउनेछन्।
यस उपकरणमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम २ खर्ब रुपैयाँसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। बोलकबोलमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकताका आधारमा निक्षेप बाँडफाँट गरिनेछ। समान ब्याजदरमा माग गरिएको रकम उपलब्ध निक्षेपभन्दा बढी भएमा समानुपातिक रूपमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।
यसरी संकलित निक्षेपको साँवा तथा ब्याज आगामी मंसिर १७ गते भुक्तानी गरिनेछ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणमा राखिएको रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन। तर, वैधानिक तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ।
































