काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेपका रूपमा खिच्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले २८ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो। यसका लागि असोज २१ गते बोलकबोल हुने र संकलित निक्षेपको भुक्तानी कात्तिक १८ गते गरिनेछ।
बोलकबोल अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत ब्याजदरका आधारमा हुनेछ। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।
सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि १० करोडकै दरले बढाउँदै अधिकतम ३० अर्ब रुपैयाँसम्म बोल गर्न सक्नेछन्। प्राप्त बोलमध्ये कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकता दिँदै कुल ३० अर्ब रुपैयाँसम्म रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।
एउटै ब्याजदरमा आह्वान गरिएको रकमभन्दा बढी बोल परेमा उपलब्ध रकमलाई प्रो–राटा आधारमा बाँडफाँट गरिनेछ। राष्ट्र बैंकले आवश्यकताअनुसार प्राप्त बोलको सम्पूर्ण वा आंशिक रकम स्वीकार गर्न वा अस्वीकार गर्न सक्ने जनाएको छ।































