काठमाडौं । नेपाल राष्ट्र बैंकले भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित उद्यमी, व्यवसायी तथा ऋणीलाई बैंकको कर्जा किस्ता भुक्तानी गर्न सहुलियत दिएको छ। राष्ट्र बैंकले प्रभावित ऋणीलाई साँवा र ब्याजको किस्ता तिर्ने समय २०८३ पुस मसान्तसम्म थप गर्न सकिने व्यवस्था गरेको हो।
राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार बाढीका कारण आर्थिक गतिविधि प्रभावित भई निर्धारित समयमा किस्ता भुक्तानी गर्न कठिनाइ भएका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले थप समय उपलब्ध गराउन सक्नेछन्।
यो सुविधा भोटेकोशी तथा बुढीगण्डकी नदीको बाढीबाट प्रत्यक्ष प्रभावित क्षेत्रका उद्यम, परियोजना तथा व्यवसायका ऋणीले पाउनेछन्। त्यस्तै, रसुवा भन्सार नाकाबाट कच्चा पदार्थ, अर्धतयारी तथा तयारी मालवस्तुको आयात वा निर्यातमा आधारित व्यवसाय र बाढीग्रस्त क्षेत्रमा प्रभावित अन्य ऋणी पनि यस व्यवस्थामा समेटिनेछन्।
ऋणीको वित्तीय अवस्था विश्लेषण गर्नुपर्ने
राष्ट्र बैंकले सहुलियत उपलब्ध गराउनुअघि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले ऋणीको वास्तविक वित्तीय अवस्था विश्लेषण गर्नुपर्ने व्यवस्था गरेको छ।
यसका लागि ऋणीको बिक्री तथा आम्दानी, नगद प्रवाह, मौज्दात रकम, आयात तथा निर्यातमा परेको असर र कर्जाको सदुपयोगितालगायतका विषयको यथार्थपरक मूल्यांकन गर्नुपर्नेछ।
विश्लेषणका क्रममा बाढीका कारण किस्ता भुक्तानीमा कठिनाइ भएको देखिएमा बैंक तथा वित्तीय संस्थाले २०८३ असोज मसान्तमा भुक्तानी गर्नुपर्ने साँवा र ब्याजको किस्ता तिर्ने समय २०८३ पुस मसान्तसम्म थप गर्न सक्नेछन्।
यस व्यवस्थाबाट बाढीका कारण व्यवसाय सञ्चालन, आपूर्ति शृङ्खला तथा आम्दानीमा असर परेका ऋणीलाई तत्कालीन वित्तीय दबाब कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।



































