काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अघिल्ला गभर्नरको तुलनामा कम पारिश्रमिक तथा सुविधा बुझेका छन् । राष्ट्र बैंकको वार्षिक प्रतिवेदनअनुसार उनले आर्थिक वर्ष २०८२/८३ मा तलब, बैठक भत्ता र अन्य सुविधासहित कुल ४६ लाख ४८ हजार ९५६ रुपैयाँ प्राप्त गरेका छन् ।
पूर्वगभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८०/८१ मा ६४ लाख ६२ हजार ७१ रुपैयाँ बुझेका थिए । अधिकारीको तुलनामा पौडेलको कुल प्राप्ति १८ लाख १३ हजार ११५ रुपैयाँ कम हो ।
राष्ट्र बैंकको वार्षिक प्रतिवेदनअनुसार गभर्नर पौडेलले तलबबापत १६ लाख ३२ हजार रुपैयाँ, सञ्चालक समितिको बैठक भत्ताबापत ५ लाख ६७ हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाबापत २४ लाख ४९ हजार ९५६ रुपैयाँ बुझेका हुन् ।
उनले प्राप्त गरेको कुल रकम अघिल्ला गभर्नरको तुलनामा कम देखिन्छ । पूर्वगभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८०/८१ मा तलब, भत्ता तथा सुविधासहित ६४ लाख ६२ हजार ७१ रुपैयाँ प्राप्त गरेका थिए । यो रकम पौडेलले गत आर्थिक वर्षमा प्राप्त गरेकोभन्दा १८ लाख १३ हजार ११५ रुपैयाँ बढी हो ।
गभर्नर पौडेल २०८२ जेठ ६ गते राष्ट्र बैंकको नेतृत्वमा नियुक्त भएका थिए । त्यसैले आर्थिक वर्ष २०८१/८२ मा उनले पूरा वर्ष गभर्नरका रूपमा काम गरेका थिएनन् । उक्त वर्ष उनले ६ लाख ८३ हजार ६०३ रुपैयाँ मात्रै प्राप्त गरेका थिए । आर्थिक वर्ष २०८२/८३ मा भने उनको पारिश्रमिक तथा सुविधा पूर्ण आर्थिक वर्षको हिसाबमा समेटिएको हो ।
राष्ट्र बैंकका सञ्चालक समिति सदस्यले प्रतिवैठक ९ हजार रुपैयाँ बैठक भत्ता पाउने व्यवस्था छ । यसबाहेक पदाधिकारीले जिम्मेवारीअनुसार सवारीसाधन, इन्धन, सवारी मर्मत, चालक, टेलिफोन, पत्रपत्रिका, इन्टरनेट तथा चिकित्सा सुविधालगायतका संस्थागत सुविधा पाउँछन् । त्यसैले वार्षिक प्रतिवेदनमा उल्लेख भएको कुल रकमलाई नियमित तलबका रूपमा मात्रै बुझ्न मिल्दैन ।
डेपुटी गभर्नर पण्डितले बुझे ६१ लाख
राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आर्थिक वर्ष २०८२/८३ मा तलब, भत्ता तथा अन्य सुविधासहित ६१ लाख ९८ हजार ९९५ रुपैयाँ प्राप्त गरेका छन् ।
गत चैत २४ गते डेपुटी गभर्नरमा नियुक्त भएका पण्डितको कुल प्राप्तिमा नियुक्तिअघिको कार्यकारी निर्देशक पदमा रहँदाको पारिश्रमिक तथा सुविधा पनि समावेश छ ।
उनले तलबबापत १३ लाख ६५ हजार ५८० रुपैयाँ, बैठक भत्ताबापत २ लाख २५ हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाबापत ४६ लाख ८ हजार ४१५ रुपैयाँ प्राप्त गरेका छन् । त्यसैले उक्त रकमलाई डेपुटी गभर्नर बनेपछि एक वर्षमा प्राप्त गरेको पारिश्रमिकका रूपमा बुझ्न मिल्दैन ।
पूर्वडेपुटी गभर्नरले पनि बुझे ६४ लाखसम्म
राष्ट्र बैंककी निवर्तमान डेपुटी गभर्नर डा. नीलम ढुंगाना (तिम्सिना) ले आर्थिक वर्ष २०८१/८२ मा ६४ लाख ३८ हजार १३१ रुपैयाँ प्राप्त गरेकी थिइन् । उनले २०८२ फागुन २५ गते कार्यकाल पूरा गरेकी हुन् । उपलब्ध विवरणअनुसार उनले अर्को आर्थिक वर्षमा ५४ लाख १८ हजार ९७१ रुपैयाँ प्राप्त गरेकी थिइन् ।
त्यस्तै, डेपुटी गभर्नर बमबहादुर मिश्रले आर्थिक वर्ष २०८२/८३ मा ५१ लाख १६ हजार ७७१ रुपैयाँ प्राप्त गरेका छन् ।
मिश्रले तलबबापत ९ लाख ४९ हजार २६० रुपैयाँ, सञ्चालक समितिको बैठक भत्ताबापत २ लाख ३४ हजार रुपैयाँ र अन्य सुविधा तथा भत्ताबापत ४२ लाख ३५ हजार ७११ रुपैयाँ बुझेका हुन् ।
राष्ट्र बैंकका पदाधिकारीको पारिश्रमिक विवरणले नियमित तलबसँगै पदअनुसार प्राप्त हुने संस्थागत सुविधाको हिस्सा पनि उल्लेख्य रहेको देखाउँछ । सवारीसाधन, इन्धन, चालक, सञ्चार, स्वास्थ्य उपचार तथा अन्य सुविधा जोडिँदा कुल प्राप्ति रकम नियमित तलबभन्दा बढी देखिएको हो ।
































