काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका १५ करोड थान नयाँ सिक्का बजारमा ल्याउने तयारी गरेको छ। सिक्का उत्पादन तथा आपूर्तिका लागि केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय कम्पनीहरूसँग बोलपत्र आह्वान गरेको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले पाँच रुपैयाँ दरका सिक्काको डिजाइन, टकमरी, आपूर्ति तथा ढुवानीको जिम्मेवारी दिने उद्देश्यले शिलबन्दी बोलपत्र आह्वान गरेको हो।
राष्ट्र बैंकका अनुसार बोलपत्र प्रक्रियामा पूर्वयोग्य ठहरिएका अन्तर्राष्ट्रिय सेक्युरिटी मिन्टिङ कम्पनीहरूले मात्र सहभागिता जनाउन पाउनेछन्। इच्छुक कम्पनीले प्राविधिक र वित्तीय प्रस्ताव छुट्टाछुट्टै खाममा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
बोलपत्रसम्बन्धी कागजात खरिद गर्न कम्पनीहरूले २० हजार रुपैयाँ वा सो बराबरको विदेशी मुद्रा बुझाउनुपर्नेछ। कागजात खरिद गर्ने अन्तिम म्याद डिसेम्बर २८ सम्म तोकिएको छ।
यसैगरी, बोलपत्रसम्बन्धी थप जानकारी तथा जिज्ञासाका लागि डिसेम्बर ११ मा राष्ट्र बैंकको थापाथलीस्थित कार्यालयमा पूर्वबोलपत्र बैठक आयोजना गरिनेछ।
बोलपत्र पेस गर्ने अन्तिम समय डिसेम्बर २९ गते दिउँसो १२ बजेसम्म तोकिएको छ। प्राप्त बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिने राष्ट्र बैंकले जनाएको छ।
प्रतिस्पर्धामा सहभागी हुने कम्पनीले कम्तीमा १ लाख २७ हजार अमेरिकी डलर वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा अथवा नेपाली रुपैयाँमा बैंक धरौटी पेस गर्नुपर्नेछ। यस्तो धरौटी बोलपत्र पेस गरेको मितिबाट कम्तीमा १५० दिनसम्म मान्य हुनुपर्ने व्यवस्था गरिएको छ।































