National life
cg eloctronics

मासुमा सरकारी छाप लगाउने अभियान सुस्त, उपभोक्ताको स्वास्थ्य जोखिममा ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१३ मंसिर २०८३, आइतबार
285Shares
मासुमा सरकारी छाप लगाउने अभियान सुस्त, उपभोक्ताको स्वास्थ्य जोखिममा ?
muktinatha bikash bank

काठमाडौं । पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ लागू भएको दुई साता बित्न लाग्दा पनि काठमाडौं उपत्यकामा सरकारी छापसहितको मासु बिक्री–वितरण प्रभावकारी बन्न सकेको छैन । ऐन कार्यान्वयन सुरु भएको अवधिमा हालसम्म आठवटा वधस्थलबाट मात्रै मासु परीक्षण तथा सरकारी प्रमाणीकरणको काम भइरहेको छ ।

गत १ मंसिरदेखि लागू भएको ऐनको सुरुवातमा पाँचवटा वधस्थलबाट सरकारी छाप लगाएर मासु बिक्री गर्न थालिएको थियो । त्यसयता थप तीन वधस्थललाई पनि प्रमाणीकरण प्रक्रियामा समेटिएको पशु सेवा विभागले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

विभागका वरिष्ठ पशु चिकित्सक डा. नवराज श्रेष्ठका अनुसार हाल भ्याली कोल्ड स्टोर (बालाजु), थ्री स्टार फुड प्रालि (टोखा), युनिक मिट स्टोर (भीमसेनगोला), बुढाथोकी कोल्ड स्टोर (सीतापाइला), माँ भगवती मिट स्टोर (सोह्रखुट्टे), द हाइजेनिक चिकेन हब प्रालि (सूर्यविनायक), न्यु पञ्चकन्या सप्लायर्स (ठिमी) र सिन्धु चिकेन प्रोसेसिङ प्रालि (टोखा)बाट सरकारी छापसहितको मासु बजारमा पठाइँदै आएको छ ।

ऐनअनुसार वध गर्नुअघि पशुको स्वास्थ्य परीक्षण र वधपछि मासुको पुनः परीक्षण गरिन्छ । दुवै चरणको परीक्षणबाट स्वस्थ प्रमाणित भएपछि मात्रै मासुमा सरकारी छाप लगाएर बिक्रीका लागि अनुमति दिने व्यवस्था छ ।

everest bank

विभागले उपत्यकामा सबैभन्दा बढी खपत हुने कुखुराको मासुबाट नियमन सुरु गरेको जनाएको छ । विभागको तथ्यांकअनुसार उपत्यकामा खपत हुने मासुमध्ये कुखुराको हिस्सा ४१ प्रतिशत छ । त्यस्तै राँगा–भैँसीको ३१ प्रतिशत, खसी–बोका तथा च्यांग्राको २० प्रतिशत र सुँगुर–बंगुरको आठ प्रतिशत हिस्सा रहेको छ ।

ऐन लागू भएलगत्तै बजारमा सरकारी छाप लागेको मासु मात्रै उपलब्ध हुने अपेक्षा गरिएको भए पनि सरकारी तयारी कमजोर हुँदा कार्यान्वयन प्रभावकारी हुन नसकेको विभागका अधिकारीहरूले स्वीकार गरेका छन् ।

वरिष्ठ पशु चिकित्सक श्रेष्ठका अनुसार मासु सुपरिवेक्षक नियुक्तिमा ढिलाइ हुँदा ऐन कार्यान्वयन प्रभावित भएको हो । बागमती प्रदेश मन्त्रिपरिषद्को तीन दिनअघिको बैठकले २३ जना मासु सुपरिवेक्षक नियुक्त गरेको छ । अब वधस्थलको अनुमति प्रक्रिया तीव्र बनाइने र एक साताभित्र अनुमति प्राप्त वधस्थलको संख्या करिब एक सय पुर्‍याउने विभागको लक्ष्य छ ।

विभागका अनुसार वधस्थल सञ्चालनको अनुमति माग्दै हालसम्म एक सय ३० वटा निवेदन परेका छन् । तीमध्ये पूर्वाधार निरीक्षणपछि कम्तीमा एक सय वधस्थललाई तत्काल अनुमति दिने तयारी गरिएको छ ।

उपत्यकाका २१ स्थानीय तहमा विभागले दुई सय ४० जना मासु निरीक्षकसमेत परिचालन गरेको छ । उनीहरूले वधस्थलमा पुगेर पशुको स्वास्थ्य परीक्षण गर्ने, वधका लागि अनुमति दिने र वधपछि मासुको गुणस्तर जाँच गरी स्वस्थ प्रमाणित भए सरकारी छाप लगाउने जिम्मेवारी पाएका छन् ।

बालाजुस्थित भ्याली कोल्ड स्टोरमा मात्रै तीनजना निरीक्षक राति ११ बजेदेखि बिहानसम्म खटिएर कुखुराको मासुमा सरकारी छाप लगाउने काम गरिरहेका छन् ।

तर, सरकारी प्रमाणीकरणको दायरा निकै साँघुरो छ । कुखुरा व्यवसायी संघका अनुसार उपत्यकामा दैनिक औसत पाँच लाख किलो कुखुराको मासु खपत हुन्छ । तर, आठवटा वधस्थलबाट दैनिक २० हजार किलो मासुमा समेत सरकारी छाप लगाउन सकिएको छैन ।

लामो समयदेखि कार्यान्वयनको प्रतीक्षामा रहेको ऐन सुरुवातमै प्रभावकारी बन्न नसक्दा उपभोक्ता निराश बनेका छन् । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बजारमा बिक्री हुने सबै मासुको स्वास्थ्य परीक्षण गरी सरकारी छाप लगाउने व्यवस्था तत्काल प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छन् ।

ऐन लागू भए पनि अधिकांश मासु पसलमा अझै सरकारी छापबिनाकै मासु बिक्री भइरहेको अवस्थामा नियमनको दायरा विस्तार गर्नु र नियमित अनुगमनलाई प्रभावकारी बनाउनु सरकारका लागि चुनौती बनेको छ ।

यो समाचार शेयर गर्नुहोस्
285SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?