काठमाडौंः चालु आर्थिक वर्षको कात्तिकसम्म ३८२ वटा वैदेशिक लगानीका उद्योग स्थापना गर्नका लागि प्रस्ताव स्वीकृत भएका छन्। यो अवधिमा मात्र ३६ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता दर्ता भएको छ। विभागका अनुसार दर्ता प्रक्रियामा ‘अटोमेटिक रुट’ प्रयोग गर्ने उद्योगको संख्या तीव्र रूपमा बढेको छ।
कुल दर्तामध्ये २५१ उद्योग अटोमेटिक रुटबाट स्वीकृत भएका छन्, जहाँ प्रणालीले नै डकुमेन्ट जाँचेर अनुमोदन गर्छ। बाँकी १३१ उद्योग भने अनलाइनबाट आवेदन आए पनि विभागका कर्मचारीले फाइल परीक्षण गरी स्वीकृति दिएका हुन्।
चार महिनाको तथ्यांक अनुसार नेपालमा भित्रिएका उद्योगमध्ये ७ ठूला, ६ मध्यम र ३६९ साना उद्योग रहेका छन्। दर्ताको आधारमा हेर्दा ५४ प्रतिशत उद्योग सूचना प्रविधि (आईटी) क्षेत्रका छन्। पर्यटन ३१ प्रतिशत, उत्पादन ६ प्रतिशत, सेवा ६ प्रतिशत, ऊर्जा १ प्रतिशत र खानी क्षेत्र १ प्रतिशत रहेको विभागले जनाएको छ।
तर रकम प्रतिवद्धताको हिसाबले चित्र फरक देखिन्छ ! कृषिमा सबैभन्दा धेरै ६० प्रतिशत लगानी प्रतिवद्धता आएको छ भने पर्यटनमा २४ प्रतिशत छ। आईटी क्षेत्रमा भने कुल लगानी प्रतिबद्धता मात्र २ प्रतिशत छ। कृषिमूलक उद्योगमा २१ अर्ब ८८ करोड, पर्यटनमा ८ अर्ब ९४ करोड, सेवामा ३ अर्ब, र उत्पादनमूलक उद्योगमा १ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता रहेको छ।
यसैबीच, विदेशी लगानीकर्ता नेपाल आउने संख्या भने घट्ने क्रममै छ। गत आर्थिक वर्षको पहिलो चार महिनामा एक हजार २० विदेशी लगानीकर्ता नेपाल आएका थिए भने चालु वर्ष सोही अवधिमा ७७१ मात्र आएका छन्। कम्पनी प्रतिनिधिका रूपमा आउने अनुमतिमा पनि कमी आएको छ । गत वर्ष २०५ जनाले अनुमति लिए पनि यो वर्ष १२२ जनाले मात्र प्रवेश अनुमति प्राप्त गरेका छन्। डिपेन्डेन्ट भिसामा आउने संख्या पनि ३३२ बाट घटेर २२५ पुगेको छ।
यद्यपि लगानीकर्ताले नेपालबाट रोयल्टी तथा नाफा लैजाने रकम भने उल्लेख्य रूपमा बढेको छ। रोयल्टी शीर्षकमा लगानीकर्ताले यस वर्ष १ अर्ब ८ करोड रुपैयाँ फिर्ता लगेका छन्, जुन गत वर्षको ३८ करोड रुपैयाँभन्दा धेरै हो। डलरमा रोयल्टी बाहिरिने रकम भने ८ लाख १५ हजारबाट घटेर २ लाख १४ हजार डलरमा सीमित भएको छ, जबकि भारतीय रुपैयाँमा ९५ लाख रुपैयाँ फिर्ता लगिएको छ।
नाफाको अंश (डिभिडेन्ड) बाट लगानीकर्ताले लैजाने रकम पनि प्रचण्ड रूपमा बढेको छ। गत वर्ष ६ करोड ७० लाख रुपैयाँ मात्र नाफा फिर्ता लगाइएकोमा चालु आर्थिक वर्षका चार महिनामै २ अर्ब ९० करोड रुपैयाँ विदेशिएको छ। समग्रमा, उद्योग दर्ता र लगानी प्रतिबद्धता सकारात्मक देखिए पनि विदेशी लगानीकर्ता आगमन घट्नु र नाफा–रोयल्टी बाहिरिने रकम बढ्नु नेपालका लागि नीतिगत संकेत बन्न सक्ने आकंलन छ ।

































