काठमाडौं। पछिल्लो समय घरजग्गा व्यवसायमा देखिएको मन्दी हटाउन सरकारी स्तरमा विभिन्न प्रयास भए पनि अपेक्षित परिणाम नआएपछि अर्थतन्त्रमै नकारात्मक प्रभाव परेको छ।
अर्थतन्त्रको महत्वपूर्ण सूचक मानिने र बजारमा पूँजी प्रवाह गराउने मुख्य क्षेत्र घरजग्गा कारोबार सुस्त भएपछि समग्र आर्थिक गतिशीलतामा नै दबाब बढेको छ। मन्दी हटाउन सरकारले भूउपयोग नियमावली संशोधनदेखि अध्यादेशमार्फत कानुनी सुधार गर्ने तयारीसमेत गरिरहेको छ।
यसअघि सरकारले भूउपयोग (तेस्रो संशोधन) नियमावली पनि जारी गरिसकेको छ। तर अपेक्षित सुधार भने देखिएको छैन। घरजग्गा कारोबार घटेपछि राजस्वमा पनि प्रभाव परेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा राजस्व सङ्कलन क्रमशः ओरालो लागेको पाइएको छ।
गत साउनमा देशभरका मालपोत कार्यालयहरूले रु ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२, भदौमा ३ अर्ब १४ करोड ७ लाख १६ हजार ३३५, असोजमा २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७, र कात्तिकमा २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ बराबरको राजस्व सङ्कलन गरेका थिए।
कात्तिक महिनामा मात्रै सेवा करमार्फत रु २१ करोड ३४ लाख ४७ हजार ४१३, रजिष्ट्रेसन दस्तुरमार्फत रु १ अर्ब ५० करोड ६२ लाख ९६ हजार १४, र पुँजीगत लाभकरमार्फत रु ९९ करोड ७८ लाख ४४ हजार ३९२ सङ्कलन भएको विभागले जनाएको छ। सरकारले सहजीकरणका उपायहरू अपनाए पनि व्यापारिक व्यवहारमा प्रत्यक्ष सुधार नदेखिनु र राजस्व निरन्तर घट्दै जानु घरजग्गा बजारमा गहिरिँदो मन्दीको संकेत भएको जानकारहरुको धारणा छ।


































