काठमाण्डौ । नेपालमा हरेक महिना मोबाइल फोनको आयात क्रमशः बढ्दै गएको छ। भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो पाँच महिना (साउनदेखि मङ्सिरसम्म) मा १९ अर्ब १३ करोड ६९ लाख रुपैयाँ भन्सार मूल्य बराबरका १० लाख ७० हजार थान मोबाइल फोन आयात भएका छन्। यस अवधिमा सरकारले मोबाइल आयातबाट तीन अर्ब ५६ करोड रुपैयाँ भन्सार महसुल संकलन गरेको छ।
पछिल्लो समय महँगा स्मार्टफोनको प्रयोग बढ्दै गएसँगै मोबाइल आयातमा पनि उल्लेख्य वृद्धि देखिएको भन्सार विभागको तथ्यांकले संकेत गरेको छ।
पाँच महिनाको अवधिमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आयात भएका छन्। चीनबाट मात्रै १५ अर्ब रुपैयाँ बराबरका नौ लाख थानभन्दा बढी स्मार्टफोन नेपाल भित्रिएका छन्। त्यस्तै, भारतबाट तीन अर्ब ८७ करोड रुपैयाँ बराबरका एक लाख ६२ हजार २४७ थान स्मार्टफोन आयात भएका छन्।
यस्तै, कतारबाट एक करोड २५ लाख रुपैयाँ बराबरका ६ सय ४ थान र संयुक्त अरब इमिरेट्स (यूएई) बाट चार करोड ८८ लाख रुपैयाँ बराबरका ५ सय १२ थान स्मार्टफोन नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ।
अन्य मुलुकतर्फ हेर्दा, अमेरिकाबाट पाँच करोड रुपैयाँ बराबरका ४ सय ४४ थान, अष्ट्रेलियाबाट तीन करोड ३० लाख रुपैयाँ बराबरका २ सय ७८ थान, जापानबाट तीन करोड २२ लाख रुपैयाँ बराबरका ४ सय १४ थान तथा दक्षिण कोरियाबाट एक करोड १६ लाख रुपैयाँ बराबरका १ सय ६६ थान स्मार्टफोन आयात भएका छन्।
भन्सार विभागका अनुसार स्मार्टफोनप्रतिको बढ्दो आकर्षण, प्रविधिमा आएको नयाँपन र उपभोक्ताको खर्च गर्ने क्षमता विस्तार हुँदै जाँदा आगामी दिनमा मोबाइल आयात अझ बढ्ने संकेत देखिएको छ।






































