काठमाडौँ । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएसँगै अदालत गेटमा रास्वपा समर्थक र शुभेच्छुकले रानाबाजी गरेर खुशी साटेका छन् ।
कास्की जिल्ला अदालतले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो। न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि बिहीबार लामिछाने सहितलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायतमाथि थुनछेक बहस भएको हो। गत पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
कास्की अदालतको गेटमा अदालतलाई धन्यवाद यो जीत कसको घण्टीको भन्दै रास्वपा समर्थकले चर्को नाराबाजी गर्दै खुशी साटेका छन् । अदालतले लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी माग गरेको छ । त्यस्तै, छविलाल जोशीलाई ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
क्रमशः लिला पछाईसँग ३६ लाख, राम खनालसँग १५ लाख, कृष्ण गुरुङसँग १ लाख, मिना गुरुङसँग ५ लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग गरिएको छ ।































