काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई मनपरी शुल्क निर्धारण नगर्न नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ।
प्राधिकरणले एक सूचना जारी गरेर हाल कतिपय इन्टरनेट सेवा प्रदायकहरुले सेवाको शुल्क–महसुल दर स्वीकृत नगराई विभिन्न सामाजिक सञ्जाल, पत्रपत्रिका तथा सम्बन्धित सेवा प्रदायकहरुको वेबसाइटमा सूचना प्रकाशन गरी मनपरी शुल्क लागू गरेको देखिएकोले यस्तो नगर्न आग्रह गरेको हो।
प्राधिकरणले सूचनामा भनेको छ- ‘दूरसञ्चार सेवा प्रदायकहरुले सेवा प्रदान गरे बापत ग्राहकसँग लिने शुल्क तथा महसुल दर दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमति पत्रको सर्त बमोजिम प्राधिकरणबाट स्वीकृत भएको मिति समेत उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशित गरे पश्चात् मात्र लागू गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।
































