काठमाडौं । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजनाको पहुँचमार्ग निर्माणका लागि दुई हजारबढी रुख कटान गरिने भएको छ ।
आयोजनाको पहुँचमार्ग निर्माणका लागि भोटखोला–२ र ४ नम्बर वडाका राष्ट्रिय र सामुदायिक वनका दुई हजारभन्दा बढी रुख काट्न अनुमति दिइएको हो । पहुँचमार्ग निर्माणका लागि भोटखोला–४ मा राष्ट्रिय वन तथा भोटखोला–२ मा पारिपाखा र माक्पालुङ सामुदायिक वन क्षेत्रले ओगटेको छ ।
त्यहीँ वनक्षेत्रबाट करिब २१ दशमलव शून्य आठ हेक्टर क्षेत्रफलका दुई हजार एक सय ६८ रुख काट्न अनुमति दिइएको डिभिजन वन कार्यालयको भनाई छ ।
प्राधिकरणले दुई दशमलव ०३ किलोमिटर सुरुङमार्गसहित करिब २२ किलोमिटर पहुँच सडक निर्माणका लागि भारतीय गायत्री जेभी र झापाको कन्काइ सुरुङ्गा जेभी कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ । पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिने आयोजना कार्यालयले जनाएको छ ।
पहुँचमार्ग भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमा फेदीसम्मको निर्माण गरिनेछ । सात अर्ब ९१ करोड ३९ लाखमा उक्त सडक निर्माण हुन लागेको प्राधिकरणले जनाएको छ ।





































