काठमाडौँ । तिहार सकिएको करिब एक हप्ताको समय भएको छ । बजारमा तिहारको लागी भनेर व्यवसायीले ल्याएको फूल सुकेको अवस्थामा देख्न पाइन्छ ।
यस वर्षको तिहारमा २४ करोड रुपैयाँ मूल्य बराबरको फूलको कारोबार भएको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष २ करोड रुपैयाँको कारोबार कम भएको हो ।अघिल्लो वर्ष तिहारमा २६ करोडको कारोबार भएको थियो
यो वर्ष फूलको उत्पादन राम्रो भए पनि मूल्य कम हुँदा गत वर्षको तुलनामा कारोबारमा कमी आएको पुष्प व्यवसायीको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनले जानकारी दिएको छ ।
एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङका अनुसार “गत वर्षको तिहारमा १०० रुपैयाँमा फूलको माला बिक्री भएको थियो भने यस वर्ष सरदर ६५ रुपैयाँमा उपभोक्ताले फूल खरिद गरेका थिए, कारोबार कम हुनुको मुख्य कारण नै फूलको मूल्य कमी भएको उनको भनाई छ ।
यो वर्षको तिहारमा ३१ करोड २८ लाख मूल्य बराबरको फूलको कारोबार हुने अनुमान रहे पनि झन्डै ७ करोड कम कारोबार भएको छ । यो वर्ष ७० प्रतिशत भारतीय फूल प्रयोग भएको र ३० प्रतिशत मात्रै नेपालमै उत्पादन भएको फूल प्रयोग भएका कारण नेपाली उत्पादनले राम्रो बजार नपाएको अध्यक्ष तामाङको भनाइ छ ।
भारतबाट ल्याई कोल्ड स्टोरमा राखिएको माला सस्तो पाउने भएपछि नेपाली फूलले समेत मूल्य नपाएको तामाङको भनाई छ । यो वर्षको तिहारका लागि ४० लाख सयपत्री फूलको माला खपत हुने अनुमान गरिएको भए पनि ३० लाख सयपत्री, मखमली गोदावरी र मिक्स माला गरी जम्मा ३५ लाख फूलको माला खपत भएको बताइएको छ ।
पछिल्लो समय बजार माग वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा पुष्प खेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा करिब एक हजार दुई सय व्यवसायीले यसको खेती गर्दै आएका छन् ।






































