काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ८ राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा २९.०७ प्रतिशतले बढेको छ।
विकास बैंकहरुले आज सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.०७ प्रतिशत बढेको हो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा विकास बैंकहरुले कुल १ अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिसम्मको समयमा यी बैंकहरुले १ अर्ब १० करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
यस अवधिमा ज्योति विकास बैंकको नाफा १९७.६१ प्रतिशत बढेको छ। यो सर्वाधिक नाफा कमाउनेमा पर्दछ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १५ करोड ११ लाख रुपैयाँ यस्तो नाफा कमाएको छ।
महालक्ष्मी विकास बैंकका नाफामा भने गिरावट आएको छ । समीक्षा अवधिमा सो बैंकको खुद नाफा १.१४ प्रतिशत घटेको छ। चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बढी नाफा कमाउने राष्ट्रियस्तरको विकास बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ ।
बैंकले असोज मसान्तसम्ममा २८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.१७ प्रतिशत बढी हो। सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड १ लाख रुपैयाँ नाफा कमाएको छ रकमको आधारमा अन्य बैंक भन्दा कम नाफा कमाउनेमा यस बैंक पर्दछ ।




































