काठमाडौँ । यस साता भएको सुनचाँदीको कारोबारका गिरावट आएर बन्द भएको छ । साताभरमा दैनिक उतारचढाव देखिएको सुनचाँदीको कारोबार समग्रमा सुस्ताएर बन्द भएको हो । साप्ताहिक रूपमा यस साता सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँ घटेको हो।
गत साताको अन्तिम कारोबार दिन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको छापावाल सुनको मूल्य, यस साताको अन्तिम कारोबार दिन १ लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।
अमेरिकी राष्ट्रपतिको निर्वाचनको परिणामसँगै यस साता सुनको मूल्यमा उतारचढाव भएको संघले जनाएको छ। त्यसैगरी, अमेरिकी डलरले बनाएको नयाँ नयाँ अलटाइम हाइ रेकर्ड, फेडरल रिजर्भले घटाएको ब्याजदरका कारण पनि यस साता सुनको मूल्य प्रभावित भएको जानकारहरूको भनाई छ ।
यस साता छापावाल सुन प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, बुधवार तोलामा ३०० रुपैयाँ बढेर १ लाख ६८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
बिहीबार भने सुनको मूल्य तोलामा ४ हजार रुपैयाँ घटेर १ लाख ६४ हजार ५०० रुपैयाँमा र शुक्रवार २ हजार रुपैयाँ बढेर १ लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यस साता चाँदीको मूल्यमा पनि उतारचढाव भएको छ। साप्ताहिक रूपमा चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँ घटेको छ।
कात्तिक १५ गते तोलाको २ हजार ९० रुपैयाँमा कारोबार भएको चाँदी, यस साताको मंगलबार २ हजार ३० रुपैयाँमा कारोबार भएको थियो।




































