काठमाडौँ । यस साता भएको सुनचाँदीको कारोबारले नयाँ रेकर्ड कायम गरेको छ । साताको बुधवार रेकर्ड कायम गरेको मूल्यले बिहीबार पनि पुनः हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ ।
साताको पहिलो दिन आइतबार प्रति तोला १ लाख ५२ हजार ४०० रुपैयाँ रहेको सुनको मूल्य, बुधवार उच्च रेकर्ड राख्दै प्रतितोला १ लाख ५३ हजार १०० रुपैयाँ पुग्यो । त्यसपछि बिहीबार पुनः अर्को रेकर्ड कायम गर्दै प्रतितोला मूल्य १ लाख ५३ हजार २०० रुपैयाँ पुग्यो ।

यो साता नेपाली बजारमा चाँदीको मूल्य सामान्य घटेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला १ हजार ८५० रुपैयाँ रहेको मूल्य साताको अन्तिम कारोबार भएको दिन, शुक्रवार प्रतितोला १ हजार ८२० रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको द्वन्द्वको प्रभावका कारण र विगतका सुनको मूल्य बढ्ने यथावत् रहेको कारण सुनको मूल्य बढ्न गएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताएका छन् ।
सुनचाँदीको मूल्यमा एकपछि अर्को रेकर्ड बन्दा बने पनि अपेक्षा अनुसारको कारोबार हुन नसकेको व्यवसायीहरूको गुनासो छ । हिन्दु नारीको महा पर्व धेरैजसो गरगहनाको कारोबार बढ्नुपर्ने तीज मुखैमा रहँदा समेत आशा गरे अनुसार किनबेचको कारोबार हुन नसकेको व्यवसायीको भनाई छ ।





































