काठमाडौँ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडा दर उपलब्ध गराउन आदेश दिएका छन् । आज हवाई भाडा वृद्धि नियन्त्रणबारे मन्त्रालयमा बोलाएको छलफलमा मन्त्री पाण्डेले यस्तो निर्देशन दिएका हुन्।
‘हामीले नागरिककै सेवा भनेर हवाई कम्पनीहरूलाई सहुलियत दिएका थियौँ। तर त्यसको उपहास भएको छ, राज्य र नागरिकप्रतिको दायित्वलाई बेवास्ता गरेर गैरजिम्मेवारीपन देखाइएको छ’, मन्त्री पाण्डेले भने, ‘नागरिकमाथि प्रतिष्ठित व्यापारी र एयरलाइन्सले द्वन्द्व व्यापारजस्तो गर्नुभएको छ। यस विषयले म निकै दुस्खी भएको छु।’
यसअघि हवाई सेवा कम्पनीहरूले नियामक निकायसँगको छलफलमा भाडा नियन्त्रणका लागि पाँचबुँदे सहमति गरिएको भए पनि त्यसको कार्यान्वयन नगरेको भन्दै पर्यटन मन्त्री पाण्डेले आक्रोश व्यक्त गरे।
मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स०ले समेत अचाक्ली हवाई भाडा लिएकोप्रति सचेत गराए। नागरिकले हवाई भाडा वृद्धिबारे गरेको गुनासोले आफूलाई बढी चिन्तित तुल्याएको बताएका छन् ।
हवाई भाडा वृद्धिबारे गुनासो बढेपछि परराष्ट्र, श्रम र पर्यटनमन्त्रीबीचको बैठकले समेत हवाई भाडा नियन्त्रणका लागि छलफल गरिएको स्मरण गराउँदै उनले राज्य र नागरिकप्रति जिम्मेवार बन्न एयरलाइन्स कम्पनीहरूलाई चेतावनी दिएका हुन् ।
मन्त्री पाण्डेले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य उपलब्ध गराउन निर्देशन दिए। पर्यटन मन्त्री पाण्डेले एयरलाइन्सले हवाई भाडा वृद्धिबारे पुनर्विचार नगरे सरकारले कडा कदम चाल्ने स्पष्ट पारे। छलफलमा सहभागी एयरलाइन्सका प्रतिनिधिले हवाई भाडाबारे सत्यतथ्य जानकारी दिन आनाकानी गरेका थिए। एयरलाइन्सले चार गुणा बढी भाडा लिएको भन्दै आलोचना भएको थियो।


































