काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले आर्थिक विकास र वातावरण संरक्षणलाई एकसाथ अघि बढाउनुपर्ने आवश्यकता रहेको बताएकी छन्। विश्व वातावरण दिवस २०२६ को मूल समारोहलाई सम्बोधन गर्दै उनले “समृद्ध भविष्यको आधार: जलवायु तथा प्रकृतिमैत्री विकास” भन्ने नाराले देशको दिगो विकास मार्ग तय गर्न सहयोग गर्ने धारणा राखिन्।
उनका अनुसार नेपालले जलवायु परिवर्तनमा न्यून योगदान दिए पनि हिमालदेखि तराईसम्म यसको प्रभाव तीव्र रूपमा देखिन थालेको छ। मन्त्री चौधरीले जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनलाई राष्ट्रिय विकास योजनासँग जोडेर अघि बढाइएको उल्लेख गर्दै हरित अर्थतन्त्रलाई नीतिगत तहबाट व्यवहारिक कार्यान्वयनमा लगिएको बताइन्।
उनले जलवायु वित्तमा पहुँच विस्तार, वन, कृषि, ऊर्जा तथा जैविक विविधतामा आधारित हरित विकासलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिइन्। साथै, विपद् भइसकेपछि राहतमा मात्र निर्भर नभई पूर्वतयारीमा आधारित विकास प्रणाली अपनाउनुपर्नेमा उनले जोड दिइन्।
मन्त्री चौधरीका अनुसार जलवायु उत्थानशील पूर्वाधार निर्माणलाई पनि सरकारको प्रमुख प्राथमिकता बनाइएको छ। सामुदायिक वन व्यवस्थापन, जैविक विविधता संरक्षण र स्थानीय सहभागिताले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाएको उल्लेख गर्दै उनले जडीबुटी तथा गैरकाष्ठ वन उत्पादनको मूल्य अभिवृद्धिबाट संरक्षणसँगै आर्थिक लाभ लिन सकिने बताइन्।
वायु प्रदूषण नियन्त्रणलाई महत्वपूर्ण मुद्दा बताउँदै उनले देशका ३० स्थानमा वायु गुणस्तर मापन केन्द्र सञ्चालनमा रहेको र ती तथ्यहरूले नीति निर्माणमा सहयोग गरिरहेको जानकारी दिइन्। प्रमुख सहरमा यी केन्द्रहरूको स्तरोन्नति तथा केन्द्रीय वातावरण प्रयोगशालाको क्षमता विस्तार गर्ने योजना रहेको पनि उनले बताइन्।
वातावरण विभागको नेतृत्वमा राष्ट्रिय वायु गुणस्तर व्यवस्थापन योजना र काठमाडौं उपत्यकाको विशेष कार्ययोजना अघि बढाइएको उनले उल्लेख गरिन्। साथै, नेपालको तेस्रो राष्ट्रिय निर्धारित योगदान (NDC) कार्यान्वयन, उत्सर्जन व्यवस्थापन र वातावरणीय तथ्याङ्क प्रणाली सुदृढीकरणमा विभागको भूमिका महत्वपूर्ण हुने बताइन्।





































