काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उतारचढाव भइरहेको भए पनि उपभोक्तालाई राहत दिने उद्देश्यले निगमले हाल कायम रहेको बिक्री मूल्यलाई नै निरन्तरता दिएको हो।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट असोज २९, २०८३ मा प्राप्त नयाँ खरिद मूल्यअनुसार समायोजन गर्नुपर्ने अवस्था भए पनि निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य परिवर्तन नगरेको जनाएको छ।
निगमले सार्वजनिक गरेको सूचीअनुसार पेट्रोलको मूल्य पहिलो वर्गमा १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ प्रतिलिटर कायम छ। त्यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पनि सोहीअनुसार क्रमशः १९७ रुपैयाँ ५० पैसा, १९९ रुपैयाँ र २०० रुपैयाँ प्रतिलिटर तोकिएको छ। आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २४९ रुपैयाँ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ यथावत् छ।
यसरी मूल्य यथावत् राख्दा निगमलाई पाक्षिक रूपमा करिब ३ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।





































