काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको बिक्री वितरणलाई व्यवस्थित बनाउन ग्यास उद्योगी तथा विक्रेताले नयाँ व्यवस्था लागू गर्ने भएका छन् । अब उपभोक्ताले आफू नजिकको ग्यास डिलरबाटै सिलिन्डर खरिद गर्नुपर्नेछ ।
नेपाल एलपी ग्यास उद्योग संघले जारी गरेको प्रेस विज्ञप्तिअनुसार काठमाडौं उपत्यकामा २०८३ असोज २८ गते बुधबारदेखि नयाँ व्यवस्था लागू हुनेछ ।
संघका अनुसार नेपाल आयल निगममार्फत भारतका विभिन्न रिफाइनरीबाट एलपी ग्यासको आयात सहज भइरहेको छ । भदौ महिनामा मात्रै काठमाडौं उपत्यकामा ४२,१३,६६९ सिलिन्डर एलपी ग्यास बिक्री वितरण भएको विज्ञप्तिमा उल्लेख छ ।
ग्यासको बिक्री वितरण क्रमशः सहज बन्दै गए पनि चाडपर्वका समयमा उपभोक्ताले सहज रूपमा ग्यास नपाएको र एउटा ब्रान्डको सिलिन्डर अर्को ब्रान्डसँग साट्न कठिनाइ भएको गुनासो आएपछि यस्तो व्यवस्था गरिएको संघले जनाएको छ ।
उपभोक्ताको गुनासो सम्बोधन गर्दै ग्यासको सहज उपलब्धता सुनिश्चित गर्न काठमाडौं उपत्यकामा बजारीकरण भएका सबै ब्रान्डका सिलिन्डर असोज २५ देखि ३० गतेसम्म डिलरमार्फत बिक्री वितरण गर्ने व्यवस्था गरिएको थियो । यस अवधिमा बिहीबार र शुक्रबार डिलरमार्फत नियमित रूपमा ग्यास आपूर्ति गरिनेछ ।
उक्त व्यवस्था असोज २८ गते बुधबारदेखि मात्र लागू हुने भएकाले उपभोक्तालाई आफू नजिकको ग्यास डिलरमा गएर ग्यास खरिद गर्न संघले अनुरोध गरेको छ ।
नेपाल आयल निगम र ग्यास विक्रेता महासंघ नेपालले ग्यासको बिक्री वितरणलाई व्यवस्थित बनाउन समन्वय र सहकार्य जारी राख्ने जनाएका छन् ।







































