काठमाडौं । एल.पी. ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना पकाउने ग्यास (एलपी ग्यास) को अभाव अन्त्य गर्न उपभोक्तालाई संयम अपनाउन आग्रह गर्दै घरमा मौज्दात रहेको ग्यास सकिएपछि मात्रै नयाँ सिलिन्डर लिन अनुरोध गरेको छ। संघले मंगलबार सार्वजनिक गरेको एक हार्दिक अपिलमार्फत कृत्रिम अभाव सिर्जना नगर्न र वितरण प्रणालीलाई सहज बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ।
संघका अनुसार विगतमा तेस्रो मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण एलपी ग्यास आयात प्रभावित हुँदा केही समय उपभोक्तालाई आधा भरिएको (७.१ केजी) सिलिन्डर वितरण गर्नुपरेको थियो। तर अहिले अन्तर्राष्ट्रिय अवस्था सुधार भइसकेको, आयात नियमित भएको र पुनः पूर्ण क्षमताको करिब १४.२ केजी ग्यास भएको सिलिन्डर वितरण सुरु भइसकेको जनाएको छ।
संघले ग्यासको आयात सामान्य अवस्थामा फर्किए पनि पछिल्ला केही महिनादेखि बजारमा माग अस्वाभाविक रूपमा बढेको जनाएको छ। अपिलमा उल्लेख भएअनुसार केही उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर घरमा सञ्चय (स्टक) गर्दा बजारमा कृत्रिम अभाव देखिएको हो। यसले वास्तविक आवश्यकतामा रहेका उपभोक्ताले ग्यास नपाउने अवस्था सिर्जना गरेको संघको भनाइ छ।
संघले हाल घरमा करिब एक महिनासम्म पुग्ने ग्यास मौज्दात रहेका उपभोक्तालाई तत्काल लाइनमा नबस्न आग्रह गरेको छ। त्यसको सट्टा बजारमा उपलब्ध ग्यास वास्तविक आवश्यकतामा रहेका उपभोक्तालाई प्राथमिकताका साथ वितरण गर्न सहयोग गर्नुपर्नेमा जोड दिएको छ। यसबाट बजारको आपूर्ति व्यवस्थापन सहज हुने र अभावको समस्या चाँडै समाधान हुने विश्वास संघले व्यक्त गरेको छ।
अपिलमा नेपाल आयल निगम, एलपी ग्यास उद्योग, विक्रेता तथा सम्पूर्ण सरोकारवालालाई पारदर्शी र व्यवस्थित रूपमा ग्यास वितरण गर्न आग्रह गरिएको छ। साथै बजारको मागअनुसार आवश्यक परिमाणमा ग्यास आयात गरी कुनै पनि उपभोक्ताले अभाव महसुस गर्न नपर्ने वातावरण बनाउन सबै पक्ष जिम्मेवार र कर्तव्यनिष्ठ बन्नुपर्ने संघले उल्लेख गरेको छ।
संघले उपभोक्ताको सहयोगबाट कृत्रिम अभाव अन्त्य गरी एलपी ग्यासको बजारलाई छिट्टै सामान्य अवस्थामा फर्काउन सकिने विश्वास व्यक्त गर्दै धैर्य र सहकार्यका लागि सबै उपभोक्ताप्रति हार्दिक अपिल गरेको छ।


































