काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मा कवि फुयाँल नियुक्त भएका छन्। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका फुयाँल हिमालयन लाइफको उच्च व्यवस्थापकीय नेतृत्वमा पुगेका हुन्।
बीमा क्षेत्रमा लामो अनुभव हासिल गरेका फुयाँल व्यवसाय विस्तार, बजार रणनीति, कर्मचारी तथा अभिकर्ताको क्षमता विकास र संस्थागत व्यवस्थापनमा सक्रिय व्यवस्थापकका रूपमा परिचित छन्। विभिन्न जीवन बीमा कम्पनीमा नेतृत्वदायी भूमिका निर्वाह गरेका उनले बीमा बजारको प्रतिस्पर्धात्मक क्षमता बढाउन तथा नयाँ व्यावसायिक रणनीति कार्यान्वयनमा जोड दिँदै आएका छन्।
सन नेपाल लाइफमा व्यवसाय विस्तारमा भूमिका
सन नेपाल लाइफमा कार्यरत रहँदा फुयाँलले कम्पनीको व्यवसाय विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कम्पनीसम्बद्ध स्रोतको दाबी छ।
कर्मचारी तथा अभिकर्ताको क्षमता अभिवृद्धि, बजारको आवश्यकताअनुसार तालिम सञ्चालन र ग्राहकसँगको सम्बन्ध विस्तारलाई उनले प्राथमिकतामा राख्दै आएका थिए। बदलिँदो बीमा बजारमा प्रतिस्पर्धा गर्न जनशक्तिको सीप विकास र प्रभावकारी बजार रणनीति आवश्यक हुने उनको व्यवस्थापकीय दृष्टिकोण रहेको बताइन्छ।
विभिन्न बीमा कम्पनीमा काम गरेको अनुभव
फुयाँलले आफ्नो व्यावसायिक यात्रा लक्ष्मी बैंकबाट सुरु गरेका थिए। त्यसपछि राष्ट्रिय बीमा संस्थान, प्राइम लाइफ, सूर्या लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ हुँदै सन नेपाल लाइफसम्म उनले काम गरेका छन्।
सिटिजन लाइफ इन्स्योरेन्समा मुख्य बजारीकरण अधिकृत (सीएमओ) का रूपमा कार्यरत रहँदा कम्पनीको बजार विस्तारमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। कम्पनीलाई छोटो समयमै बजारका अग्रणी तीन कम्पनीभित्र पुर्याउने प्रयासमा उनको योगदान रहेको बताइन्छ।
त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्समा उनले प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा चार वर्ष नेतृत्व गरेका थिए। २०७७ भदौ ४ गते कम्पनीको नेतृत्व सम्हालेका फुयाँलको कार्यकालमा व्यवसाय विस्तार र संस्थागत विकासमा काम भएको थियो। उनको कार्यकालपछि दोस्रो कार्यकालका लागि समेत सम्झौता नवीकरण भएको बताइएको छ।
४० वर्ष नपुग्दै बनेका थिए सीईओ
के.एफ.ए. बिजनेस स्कुलबाट एमबीए गरेका फुयाँलले ४० वर्ष उमेर नपुग्दै जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए।
व्यवसाय विस्तारसँगै संस्थागत सुशासन, व्यवस्थापनमा पारदर्शिता, कर्मचारीको क्षमता उपयोग र अभिकर्ता सञ्जाल परिचालनलाई उनले प्राथमिकता दिँदै आएका छन्। बजारको बदलिँदो अवस्था, प्रविधिको प्रयोग र ग्राहकको अपेक्षाअनुसार नयाँ रणनीति अपनाउनुपर्नेमा समेत उनले जोड दिँदै आएका छन्।
सन नेपाल लाइफबाट राजीनामा दिएपछि हिमालयन लाइफको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका फुयाँलको आगामी भूमिका बीमा क्षेत्रमा चासोको विषय बनेको छ। उनको अनुभव र व्यवस्थापकीय क्षमताले हिमालयन लाइफको व्यवसाय विस्तार तथा बजार रणनीतिमा कस्तो प्रभाव पार्छ भन्ने विषय आगामी दिनमा महत्वपूर्ण रहनेछ।




































