काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (Senior DCEO) कवि फुयालले पदबाट राजीनामा दिएका छन्। बीमा क्षेत्रमा लामो अनुभव, व्यवस्थापन क्षमता र व्यवसाय विस्तारको रणनीतिका कारण परिचित फुयालको राजीनामासँगै उनको आगामी व्यावसायिक यात्राबारे बीमा क्षेत्रमा चासो बढेको छ।
बीमा क्षेत्रमा आफ्नो करियरका क्रममा फुयालले विभिन्न जीवन बीमा कम्पनीमा नेतृत्वदायी तथा व्यवस्थापकीय भूमिका निर्वाह गरेका छन्। उनी आबद्ध भएका संस्थामा व्यवसाय विस्तारसँगै कर्मचारी तथा अभिकर्ताको क्षमता विकास, नयाँ तालिम प्रणाली, बजार रणनीति र नवीन अभ्यासमा जोड दिने व्यवस्थापकका रूपमा परिचित छन्।
सन नेपाल लाइफमा रहँदा पनि कम्पनीको व्यवसाय विस्तारमा उनको भूमिका महत्वपूर्ण रहेको बताइएको छ। फुयालले कम्पनीमा आबद्ध हुँदा करिब ७० करोड रुपैयाँ रहेको व्यवसायलाई १०० करोड रुपैयाँभन्दा माथि पुर्याउन महत्वपूर्ण भूमिका खेलेको कम्पनीसम्बद्ध स्रोतको दाबी छ।
व्यवस्थापन र कर्मचारी विकासमा जोड
फुयालको नेतृत्व शैलीमा व्यवस्थापनसँगै कर्मचारी र अभिकर्ताको क्षमता विकासलाई प्राथमिकता दिने अभ्यास रहेको उनीसँग काम गरेका व्यक्तिहरू बताउँछन्।
कर्मचारी तथा अभिकर्तालाई प्रतिस्पर्धी बनाउन उनले समयअनुकूल नयाँ–नयाँ तालिम तथा अन्तर्राष्ट्रियस्तरका प्रशिक्षणमा जोड दिँदै आएका थिए। बजारमा आएको परिवर्तनअनुसार जनशक्तिको क्षमता विकास नगरेसम्म बीमा व्यवसायमा अपेक्षित परिणाम हासिल गर्न नसकिने मान्यताअनुसार उनले तालिम र सीप विकासलाई व्यवस्थापनको महत्वपूर्ण पाटो बनाउँदै आएको बताइन्छ।
अभिकर्ताको क्षमता अभिवृद्धि, बजार बुझाइ र ग्राहकसँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा समेत उनले विभिन्न कार्यक्रम तथा अभ्यास अघि बढाएका थिए।
बजार रणनीति र नवप्रवर्तनमा सक्रिय
फुयाललाई बीमा बजारको अवस्था र प्रतिस्पर्धालाई विश्लेषण गर्दै नयाँ रणनीति निर्माण गर्ने व्यवस्थापकका रूपमा पनि हेरिन्छ। बदलिँदो बजारअनुसार परम्परागत शैलीमा मात्र निर्भर नभई नयाँ सोच, नवप्रवर्तन र नवीनतम अभ्यासलाई व्यवसायमा जोड्ने प्रयास उनको व्यवस्थापकीय शैलीको अर्को पक्ष रहेको बताइन्छ।
बीमा क्षेत्रमा प्रविधि, ग्राहकको बदलिँदो अपेक्षा र प्रतिस्पर्धा बढिरहेका बेला बजारको सम्भावना पहिचान गरी त्यसअनुसार रणनीति बनाउन उनले जोड दिँदै आएका थिए।
लक्ष्मी बैंकबाट सुरु भएको करियर
फुयालले आफ्नो बैंकिङ करियर लक्ष्मी बैंकबाट सुरु गरेका थिए। त्यसपछि राष्ट्रिय बीमा संस्थान, प्राइम लाइफ, सूर्या लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ हुँदै सन नेपाल लाइफसम्म उनले काम गरेका छन्।
विभिन्न संस्थामा काम गर्ने क्रममा उनले व्यवसाय विस्तार, बजारीकरण, व्यवस्थापन तथा संस्थागत नेतृत्वमा अनुभव हासिल गरेका छन्।
सिटिजन लाइफ इन्स्योरेन्समा मुख्य बजारीकरण अधिकृत (सीएमओ) का रूपमा कार्यरत रहँदा कम्पनीको बजार विस्तारमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। कम्पनीलाई छोटो समयमै बजारको शीर्ष तीनभित्र पुर्याउन उनको भूमिका रहेको बताइन्छ।
आइएमई लाइफमा सीईओका रूपमा चार वर्ष
फुयालको व्यावसायिक यात्रामा आइएमई लाइफको नेतृत्वलाई महत्वपूर्ण मानिन्छ। २०७७ भदौ ४ गते आइएमई लाइफको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हालेका उनले चार वर्षको कार्यकाल पूरा गरेका थिए।
२०७७ भदौ ४ गते कम्पनीको नेतृत्व सम्हालेका फुयालको कार्यकालमा आइएमई लाइफको व्यवसाय विस्तार र वृद्धिमा उल्लेख्य प्रगति भएको थियो।"
उनको कार्यकालपछि दोस्रो कार्यकालका लागि समेत सम्झौता नवीकरण भएको थियो।
सुशासन र नेतृत्वमा पनि जोड
व्यवसाय विस्तारसँगै संस्थागत सुशासन र व्यवस्थित व्यवस्थापनलाई पनि फुयालले प्राथमिकतामा राख्दै आएको बताइन्छ। व्यवस्थापनमा पारदर्शिता, जिम्मेवारी बाँडफाँट, कर्मचारीको क्षमता उपयोग तथा संस्थागत लक्ष्यअनुसार टिम परिचालनमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
कर्मचारी र एजेन्सी नेटवर्कलाई संस्थाको व्यवसायिक सफलताको महत्वपूर्ण आधार मान्दै उनीहरूले हासिल गरेको क्षमता र अनुभवलाई व्यवसाय विस्तारमा उपयोग गर्ने शैली फुयालको व्यवस्थापनमा देखिएको बताइन्छ।
४० वर्षभन्दा कम उमेरमै सीईओ बने
के.एफ.ए. बिजनेस स्कुलबाट एमबीए गरेका फुयालले ४० वर्षभन्दा कम उमेरमै जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हालेका थिए।
बीमा क्षेत्रमा लामो अनुभवसँगै व्यवस्थापन, बजार रणनीति, जनशक्ति विकास, नवप्रवर्तन र व्यवसाय विस्तारमा सक्रिय भूमिकाका कारण उनी बीमा उद्योगमा परिचित नामका रूपमा स्थापित भएका छन्।
सन नेपाल लाइफबाट राजीनामा दिएसँगै अब फुयालको आगामी व्यावसायिक यात्रा कुन वित्तीय वा बीमा संस्थातर्फ अघि बढ्छ भन्ने विषयमा बीमा बजार, उद्योगी–व्यवसायी तथा लगानीकर्ताहरूको चासो देखिएको छ। यद्यपि, उनको आगामी जिम्मेवारीबारे भने हालसम्म औपचारिक जानकारी सार्वजनिक भएको छैन।






























