काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि २०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले भन्सार विन्दुमा नै नेपालको कानुनले तोकेको भारवहन क्षमता जाँच पास गर्ने अधिकारीलाई जिम्मेवार बनाउन आग्रह गरेका हुन् ।
ट्राफिक प्रहरी, जनपद प्रहरी र यातायात व्यवस्था कार्यालयहरूबाट मालवाहक सवारी साधनले तोकिएको भार वहन गरेका छन् कि छैनन् भनी मान्यता प्राप्त तौल पुल र निकायको लोड सिट समेत जाँच गरिनुपर्ने माग राखेको छ ।
यस्तै महासंघले राजमार्गहरुमा बढी भार वहन गरी सवारी साधन संचालनमा रहेको कारणले देशका राष्ट्रिय राजमार्ग र पुल पुलेसामा क्षतिहुनुका साथै दूर्घटना समेत हुन गएकोमा यस महासंघको गम्भिर ध्यानाकषर्ण भएको समेत जनाएको छ ।
महासंघले लामो समय देखि नेपाल ट्रक यातायात व्यवसायी महासंघले नेपाल भित्र संचालनमा रहेका सम्पूर्ण मालवाहक सवारी साधन ट्रक,टयाङ्कर, टेलरहरुलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र यातायात व्यवस्था नियमावलि २०५४को अधिनमा रहि आफ्नो सवारी साधन संचालन गर्न पटक पटक निर्देशन गर्दै आएको पनि जनाएको छ ।
यसका साथै सडक संरचना बचाउन र दुर्घटना न्यूनिकरण गर्न र यस क्षेत्रमा भएको खर्बौ रुपैयाँ बराबरको लगानी सुरक्षित गर्नका लागि नेपाल प्रबेश गर्ने भारतिय सवारी साधनलाई भन्सार बिन्दुमानै नेपालको कानूनले तोकेको भारवहन भन्दा बढी माल बस्तुको जाच पास गर्ने अधिकारीलाई जिम्मेवार बनाउन, नेपालका जिर्ण पूल र जोखिमयूक्त सडकहरुमा स्पष्ट देखिने गरि सडकको क्षमता र चिन्ह राख्न तथा ट्राफिक प्रहरी, जनपद प्रहरी र यातायात व्यवस्था कार्यालयहरुबाट मालवाहक सवारी साधनले तोकिएको भार वहन गरेका छन कि छैनन भनि मान्यता प्राप्त तौलपुल र निकायको लोड सिट समेत चेक जाच गर्न पनि महासंघले सरकारसँग माग गरेको छ ।
यसका साथै अधिक भारवहन गरेको पाईएमा जरिवाना सहित अधिक भरलाई अनलोड गर्न लगाई भार मिलान गरेर मात्र अगाडी बढ्न दिनुपर्ने महासंघका महासचिव राजेन्द्र बिक्रम वानियाले बताएका छन् ।


































