जनकपुरधाम । मधेश प्रदेश सरकारले युवामा बढ्दो बेरोजगारीलाई सम्बोधन गर्न १८ देखि ३५ वर्ष उमेर समूहका युवालाई लक्षित गरी ‘सयदिने रोजगार ग्यारेन्टी कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । उनले सोमबार प्रदेश सभामा आगामी आवको लागि ४९ अर्ब २४ करोड १४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । चालू आव ०८२/८३ मा कुल ४६ अर्ब ९८ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको मधेशले आगामी बजेट ४.८० प्रतिशतले बढाएको हो ।
चालू खर्चतर्फ १४ अर्ब ४१ करोड ४४ लाख रुपैयाँ, पुँजीगत खर्चतर्फ ३२ अर्ब ७२ करोड २४ लाख छुट्याइएको छ । बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनमा आन्तरिक राजस्वबाट ११ अर्ब २२ करोड ७५ लाख प्राप्त हुने अनुमान गरिएको छ । यस्तै, राजस्व बाँडफाँटबाट १२ अर्ब ८३ करोड, वित्तीय समानीकरण अनुदानबाट नौ अर्ब ४९ करोड ५९ लाख र गत आर्थिक वर्षको नगद मौज्दातबाट ६ अर्ब आठ करोड ५२ लाख परिचालन गरिने बजेटमा उल्लेख छ । सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन प्रदेश प्रहरी भर्नाका लागि आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री भट्टराईले बताए । विगतमा चर्चित बनेको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम’लाई समयानुकूल परिमार्जन गर्दै नयाँ स्वरूपमा सञ्चालन गरिने घोषणा गरिएको छ ।
धनुषास्थित जानकी मन्दिर, बाराको गढीमाई मन्दिर, पर्सास्थित पर्सा वन्यजन्तु आरक्ष, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर, महोत्तरीस्थित रौजा मजार तथा रौतहटको शिवनगर क्षेत्रलाई आपसमा जोडेर धार्मिक तथा सांस्कृतिक सर्किटको विकास गरिने भएको छ ।
त्यस्तै, लुम्बिनी, जानकी मन्दिर र अयोध्यालाई जोडेर धार्मिक तथा सांस्कृतिक महत्वका गन्तव्यबिच सीमापार पर्यटनको विकास गरिने भएको छ । प्रदेश सरकारले सरकारी खर्चमा मितव्ययिता अपनाउने नीतिअन्तर्गत नयाँ सवारीसाधन खरिदमा समेत रोक लगाएको छ ।

































