काठमाडौँ । सिंगटी हाईड्रोपावर कम्पनी लिमिटेडको विद्युत बिक्री आम्दानी र नाफामा यो त्रैमासिक अवधिमा सामान्य गिरावट आएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीले ११ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.२९ प्रतिशतले कम हो। अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले ११ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो।
विद्युत बिक्री आम्दानी पनि केही घटेको देखिन्छ। चालु त्रैमासमा कम्पनीले २५ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ भने अघिल्लो वर्षको सोही अवधिमा यो रकम २६ करोड ३५ लाख रुपैयाँ थियो। यस अवधिमा कम्पनीको कुल खर्चमा भने सुधार देखिएको छ। अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १४ करोड ७९ लाख रुपैयाँ रहेको खर्च घटेर यस वर्ष १४ करोड ८ लाख रुपैयाँमा सीमित भएको छ।
कम्पनीको सञ्चित नाफा १० करोड ७८ लाख रुपैयाँ रहेको छ। साथै कम्पनीले सेयर प्रिमियम शीर्षकमा २५ करोड ११ लाख रुपैयाँ छुट्ट्याएको छ। २६ करोड ५० लाख रुपैयाँ कुल चालु सम्पत्ति रहेको कम्पनीको कुल चालु दायित्व ४८ करोड ६५ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रमुख वित्तीय सूचकहरू
प्रति सेयर आम्दानी (EPS): १५.४८ रुपैयाँ
प्रति सेयर नेटवर्थ: ११२.३८ रुपैयाँ
तरलता अनुपात: ०.५४ गुणा
मूल्य–आम्दानी (P/E) अनुपात: १७.१८ गुणा
रिटर्न अन इक्विटी (ROE): ३.४४ प्रतिशत
समग्रमा, आम्दानी र नाफामा हल्का गिरावट आए पनि खर्च नियन्त्रण तथा वित्तीय सूचकहरू स्थिर रहनुले कम्पनीको वित्तीय अवस्था तुलनात्मक रूपमा सन्तुलित देखिएको छ ।
































