काठमाडौं, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २६औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा इप्पानको योगदान प्रशंसनीय रहेको बताएका छन्। उनले विगत दुई दशकभन्दा बढी समयदेखि इप्पानले ऊर्जा आत्मनिर्भरता हासिल गर्न गरेको प्रयासलाई राष्ट्रिय विकास र आर्थिक समृद्धिको आधार मान्दै यसको महत्व औँल्याए।
उपराष्ट्रपति यादवले नेपालको जलविद्युत् तथा नवीकरणीय ऊर्जामा धनी देश भएको स्मरण गराउँदै उपलब्ध स्रोतको सदुपयोग गरी ऊर्जा आयातमा परनिर्भरता घटाउनुपर्नेमा जोड दिए। उनले पर्याप्त र सस्तो ऊर्जा उपलब्ध भएमा उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा तीव्र विकास भई रोजगारी सिर्जना र आर्थिक समृद्धि सुनिश्चित हुने बताए।
साथै, नवीकरणीय ऊर्जाको विस्तारले कार्बन उत्सर्जन घटाउन, वातावरणीय सन्तुलन कायम राख्न र जलवायु परिवर्तनको चुनौती सामना गर्न मद्दत गर्ने उल्लेख गरे।
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री अनिल कुमार सिन्हाले निजी क्षेत्रको सक्रियताले नेपाललाई लोडसेडिङमुक्त बनाउँदै विद्युत् निर्यात गर्न सक्ने अवस्थामा पुर्याएको उल्लेख गर्दै अहिलेको कुल ४ हजार मेगावाट विद्युत उत्पादनमा ३३०० मेगावाटभन्दा बढी निजी क्षेत्रको योगदान रहेको जानकारी दिए।
उनका अनुसार ५–१० मेगावाट साना आयोजनाबाट सुरु भएको निजी क्षेत्रको यात्रा अहिले १०० मेगावाटभन्दा ठूला आयोजनासम्म पुगेको छ। मन्त्री सिन्हाले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको महत्वाकांक्षी लक्ष्य र भारत तथा बंगलादेशमा विद्युत निर्यात गर्ने योजना बारे जानकारी दिए।
कार्यक्रममा नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष दिपक मल्होत्राले निजी क्षेत्रले उत्पादन गरेको विद्युतको उचित उपयोग गरी स्वदेशमै खपत बढाउनुपर्नेमा जोड दिए। उनले औद्योगिक क्षेत्रले कुल विद्युत् खपतको ३५ प्रतिशत भन्दा बढी प्रयोग गर्दै आएको र विद्युत् निर्यातसँगै घरेलु उपयोगलाई सन्तुलनमा राख्न नीतिगत पहल आवश्यक रहेको बताए।
इप्पानका अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रको योगदान नभएको भए मुलुक अझै लोडसेडिङको समस्यामा हुने अवस्था रहेको औँल्याए। उनले हाल देशभर ९०० भन्दा बढी जलविद्युत आयोजनाले लाइसेन्स लिएर काम अघि बढाइरहेको र करिब ११ हजार ६ सय मेगावाट क्षमताका आयोजनाहरू विभिन्न चरणमा रहेको जानकारी दिए।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष महन कुमार डागीले जलविद्युत् तथा सोलार ऊर्जा क्षेत्रमा विशाल सम्भावना रहेको उल्लेख गर्दै निजी क्षेत्रको योगदान २६ वर्षमा ३ हजार ३३५ मेगावाट पुगिसकेको र निर्माणाधीन ५ हजार ७ सय मेगावाट आयोजनाले अझ बढी योगदान दिने बताए।
साथै, ‘ऊर्जा समृद्धि स्मारिका’ अनावरण, निजी क्षेत्रको लगानी समेटिएको प्रतिवेदन सार्वजनिक र ऊर्जा क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। इप्पानले यस वर्ष “इप्पान जर्नल अवार्ड” पनि सुरु गरेको छ।
समारोहमा इप्पान र बीएफआईएस न्युजको सहकार्यमा गरिएको अध्ययनले निजी क्षेत्रले ऊर्जा क्षेत्रमा १३ खर्ब १० अर्ब रुपैयाँ लगानी गरेको पाइएको छ। सरकारी क्षेत्रको लगानी करिब १ खर्ब १ अर्ब रहेको छ भने बैंकिङ क्षेत्रको लगानी ८ खर्ब ७० अर्ब र निजी क्षेत्रको शेयर लगानी ४ खर्ब ३ अर्ब रहेको छ।
उपराष्ट्रपति यादवले इप्पानको २६औँ वार्षिकोत्सवलाई भविष्यको संकल्पको रूपमा लिँदै ऊर्जामा आत्मनिर्भर, हरित र समृद्ध नेपाल निर्माणका लागि सरकार सधैँ सहकार्यमा रहने प्रतिबद्धता व्यक्त गरे।






































