काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्न आवश्यक रहेको बताएका छन्। उनले विद्युतीय चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिनेमा जोड दिएका छन्।
मन्त्री घिसिङका अनुसार, विद्युतीय चार्जिङ स्टेसनमा गाडी चार्ज गर्न केही समय लाग्ने भएकाले यात्रुलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, कफीसप लगायतका व्यवसाय सञ्चालन गर्न सकिन्छ, जसले रोजगारी सिर्जना गर्नेछ।
उनले चेन्ज डिजिटलले काठमाडौंको सामाखुसी लगायत देशका विभिन्न ठाउँमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको उद्घाटन गर्दै प्रदूषण नियन्त्रण र हरित अर्थतन्त्रतर्फ नेपालको यात्रा अघि बढाउन विद्युतीय सवारी अनिवार्य रहेको बताएका छन् ।
मन्त्री घिसिङले चार्जिङ स्टेसन व्यवसाय लगानीका दृष्टिले लाभदायक क्षेत्र रहेको उल्लेख गर्दै, यसबाट मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताए। साथै, नेपालमा उत्पादित जलविद्युत खपत वृद्धि गरेर पेट्रोलियम पदार्थको आयात घटाउन सकिने र यसबाट विदेशी मुद्रा सञ्चितिमा वृद्धि हुनेछ भनी बताए।
सरकारको लक्ष्य र नीति
सरकारले विभिन्न नीति तथा योजना मार्फत विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकतामा राख्दै आएको छ।
सन् २०३० सम्म: निजी सवारीसाधनको ९०% र सार्वजनिक सवारीसाधनको ७०% विद्युतीय बनाउने लक्ष्य।
सन् २०३५ सम्म: क्रमशः ९५% निजी र ९०% सार्वजनिक सवारी विद्युतीय बनाउने लक्ष्य।
नेपाल विद्युत प्राधिकरणले देशभर ६२ वटा चार्जिङ स्टेसन स्थापना गरेको छ भने निजी क्षेत्रले करिब ८ सय चार्जिङ स्टेसन सञ्चालन गर्दै आएको छ।
सहयोग र वित्तीय पहल
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले केन्द्रीय नवीकरणीय ऊर्जा कोष अन्तर्गत भायबिलिटी ग्याप फन्डिङ सहयोगमा आधारित दिगो ऊर्जा च्यालेन्ज फण्ड मार्फत चार्जिङ स्टेसन स्थापना गर्न सहयोग गर्दै आएको छ। यस परियोजनाबाट १८ कम्पनीसँग ४५ आयोजना मार्फत १२४ स्थानमा चार्जिङ स्टेसन निर्माणमा सहयोग पुगेको छ।
































