National life

नेपाल–कोरिया ऊर्जा साझेदारी विस्तारका लागि मन्त्री घिसिङ र राजदूत पार्कबीच छलफल

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२७ असोज २०८२, सोमबार
1.1kShares
नेपाल–कोरिया ऊर्जा साझेदारी विस्तारका लागि मन्त्री घिसिङ र राजदूत पार्कबीच छलफल
ncell

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङबीच सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटका क्रममा राजदूत पार्कले मन्त्री घिसिङलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। नेपाल र कोरियाबीच लामो समयदेखि आर्थिक सहकार्य हुँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा ऊर्जा, पूर्वाधार र प्रविधि क्षेत्रमा सहकार्य अझ सुदृढ बनाउने प्रतिबद्धता जनाए।

भेटमा मन्त्री घिसिङले नेपालको ऊर्जा सन्तुलन र विद्युत् निर्यातका लागि ठूला जलाशययुक्त जलविद्युत आयोजना अपरिहार्य रहेको बताए।

Royal Enfield
nic asia capital
उनले ५ सय मेगावाटभन्दा ठूला आयोजनामा सरकार–सरकार तहको साझेदारी वा कोरियाली निजी क्षेत्रको लगानी मार्फत परियोजना सञ्चालन गर्न सकिने सुझाव दिए।

त्यसैगरी, कोरियामा सफल रहेको र नेपालमा पर्याप्त सम्भावना रहेको हरित हाइड्रोजन उत्पादनलाई नमुना परियोजनाका रूपमा विकास गरी त्यसबाट मलखाद उत्पादन र सार्वजनिक यातायात सञ्चालनमा उपयोग गर्न सहयोग गर्न आग्रह गरे।

मन्त्री घिसिङले रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत कोरिया जाने नेपाली श्रमिकको कोटा विस्तार, कोरिया जानुअघि सीप विकास तालिम, र फर्किएपछि सो सीपको उपयोग गरी स्वदेशमा रोजगारी सिर्जना गर्न सहजीकरण गर्न पनि आग्रह गरे।

त्यसैगरी उनले अरुण नदी करिडोर र पूर्व–पश्चिम प्रसारण लाइन जोड्ने इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइनमा कोरियाली एक्जिम बैंकको सहायता छिट्टै टुंग्याउन, साथै रेलमार्ग निर्माण, सञ्चालन र मर्मतसम्भारमा क्षमता विकासका लागि सहयोग गर्न अनुरोध गरे।

भेटमा राजदूत पार्कले कोरियाली सरकारी कम्पनीको लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको प्रगतिबारे जानकारी गराए। उनका अनुसार आयोजना ७० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ र आगामी डिसेम्बरमा मुख्य सुरुङ छिचोल्ने तयारी भइरहेको छ। उनले उक्त समारोहमा मन्त्री घिसिङको उपस्थिति अनुरोध गर्दै हालसम्मको सरकारी सहयोगका लागि आभार व्यक्त गरे।

राजदूत पार्कले नेपालमा कोरियाली कम्पनीलाई आकर्षित गर्न निजी क्षेत्रका ऊर्जा उत्पादकहरूसँग सहकार्यमा सेमिनार आयोजना गर्न लागिएको जानकारी पनि दिए। साथै, प्रसारण लाइन निर्माणमा सहयोगका लागि अर्थ मन्त्रालयसँग छलफल भइरहेको उल्लेख गरे।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?