काठमाडौं। गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीबाट क्षतिग्रस्त भएको रसुवागढी जलविद्युत् आयोजना मर्मत तथा सुधारपश्चात् पुनः सञ्चालनमा आएको छ। एक सय ११ मेगावाट क्षमताको उक्त आयोजनाका तीन टर्वाइनमध्ये हालसम्म दुई टर्वाइन सञ्चालनमा आएसँगै ६८ मेगावाट विद्युत् उत्पादन भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको रसुवागढी जलविद्युत् केन्द्रले जनाएको छ।
बाढीका कारण क्षति पुगेको मुहान क्षेत्रको ड्याम, नहर तथा अन्य संरचनाको मर्मत सम्पन्न भएपछि विद्युत् उत्पादन आंशिक रूपमा सुरु गरिएको हो।
दुई चरणमा विद्युत् उत्पादन सुरु
रसुवागढी हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक सत्यराम ज्याख्वका अनुसार मर्मत–सुधार कार्य पूरा भएसँगै पहिलो चरणमा गत मङ्सिर महिनाबाट ३७ मेगावाट विद्युत् उत्पादन सुरु गरिएको थियो।
उनका अनुसार आयोजनास्थलमा अझै पनि सफाइ तथा मर्मतसम्बन्धी केही काम बाँकी रहेकाले हाल पूर्ण क्षमतामा उत्पादन सम्भव भएको छैन। आयोजनाबाट क्षमता अनुसार उत्पादन गर्न बाँकी ४३ मेगावाट विद्युत् आगामी जेठ–असार महिनाबाट उत्पादन हुने कम्पनीले जनाएको छ। वर्षायाममा पानीको प्रवाह बढेसँगै आयोजनालाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी गरिएको छ। हाल सुक्खायाम सुरु भइसकेकाले नदीमा पानीको बहाव घट्दै गएको र त्यसको असर विद्युत् उत्पादनमा परेको जलविद्युत् केन्द्रले स्पष्ट पारेको छ।
बाढीले ३ अर्ब ५१ करोड रुपैयाँ क्षति
गत असार २४ गते आएको भीषण बाढीले आयोजना क्षेत्रका उपकरण, संरचना तथा मुहान क्षेत्रमा गम्भीर क्षति पुर्याएको थियो। सो बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनाले करिब ३ अर्ब ५१ करोड रुपैयाँ बराबरको क्षति बेहोर्नुपरेको थियो। लामो समयसम्म उत्पादन बन्द हुँदा राष्ट्रिय विद्युत् प्रणालीमा समेत असर परेको थियो। मर्मत सम्पन्न भई पुनः उत्पादन सुरु भएसँगै प्रणालीमा थप विद्युत् आपूर्ति हुन थालेको छ।






































