काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो दुई महिनामा नेपालले करिब आठ अर्ब ६४ करोड ४० लाख रुपैयाँबराबरको बिजुली निर्यात गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ महिनामा बंगलादेश र भारतमा पठाइएको विद्युत् निर्यातबाट सो आम्दानी भएको हो।
हाल नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा ४० मेगावाट र भारतमा झण्डै १,००० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ। साउन र भदौ महिनामा प्राधिकरणले विद्युत् बिक्रीबाट सोही रकम आम्दानी गरेको हो।
बर्खामा खोलामा पानीको मात्रा बढ्दा पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन्छ र सो समयमा भारत र बंगलादेशतर्फ निर्यात गर्न सकिन्छ। तर, हिउँदमा पानीको सतह घटेपछि उत्पादन घट्ने हुँदा स्वदेशी माग पूरा गर्न भारतबाट विद्युत् आयात गर्नुपर्छ।
खोलामा पानीको सतह बढेसँगै प्राधिकरणले गत जेठ–असारदेखि विद्युत् निर्यात सुरु गरेको थियो। चालु आवको पहिलो दुई महिनामा मात्र आठ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको निर्यात हुनुले विद्युत् व्यापारमा सकारात्मक वृद्धि देखाएको छ।
यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.५ प्रतिशतले बढी हो। गत आवका पहिलो दुई महिनामा सात अर्ब ८२ करोड ३५ लाख रुपैयाँ बराबरको विद्युत् निर्यात भएको थियो। सो वर्षभरमा कुल १७ अर्ब ४५ करोड ९९ लाख रुपैयाँको बिजुली निर्यात भएको थियो।
हाल खोलामा पानीको सतह उच्च नै रहेकाले केही समयसम्म विद्युत् निर्यात जारी रहने प्राधिकरणको अनुमान छ। तर, पानी घट्दै गएपछि आगामी पुस महिनादेखि निर्यात रोकिएर भारतबाट आयात गर्नुपर्ने अवस्था आउन सक्नेछ।
































